Rashtriya Dainik

सरकार फेरियो, सीमामा तस्करीको शैली फेरिएन

राष्ट्रिय दैनिक /नवलपरासी ,११ जेठ

सरकार परिवर्तन भए पनि पश्चिम नवलपरासीका सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणमा कुनै ठोस सुधार नभएको भन्दै स्थानीय व्यापारी तथा बासिन्दाले गुनासो गरेका छन्। केही सीमा नाकामा निगरानी बढाइएको दाबी गरिए पनि अन्य नाकाबाट भने अवैध ओसारपसार अझै व्यापक रूपमा भइरहेको उनीहरूको आरोप छ।

सीमावर्ती क्षेत्रका व्यापारीले नेपालकै सामान नेपालमै बेच्न कठिन अवस्था सिर्जना भएको बताएका छन्। किराना व्यवसायीहरूका अनुसार नेपालबाट भारततर्फ सामान्य उपभोग्य सामग्री लैजाँदा समेत अनेक समस्या झेल्नुपरेको छ। “एक बोरा चिउरा, भुजा वा खाद्य सामग्री लिएर जाँदा सीमा नपुग्दै रोक्ने गरिन्छ,” एक व्यापारीले बताए।
उनीहरूका अनुसार सामान्य उपभोग्य सामग्रीमा कडाइ हुने गरे पनि ठूलो परिमाणमा हुने तस्करी भने सहजै पार हुने गरेको छ। भारतबाट एक बोरा आलु, प्याज वा चामल ल्याउँदा भारतीय एसएसबीले खासै रोकटोक नगर्ने तर नेपालतर्फ ल्याउँदा भने सीमा सुरक्षामा कडाइ हुने गरेको स्थानीयको भनाइ छ। भारतीय ग्राहकले नेपालबाट खरिद गरेर लैजाने सामानसमेत रोक्ने गरिएको आरोप उनीहरूले लगाएका छन्।
स्थानीय स्रोतका अनुसार भरियामार्फत भारतबाट गहुँ, तोरी लगायतका सामग्री ठूलो मात्रामा नेपाल भित्र्याई गोदाममा भण्डारण गर्ने र त्यसपछि बिल काटेर परासी तथा भैरहवासम्म पठाउने काम भइरहेको छ। यसले स्थानीय किसानको उत्पादनले उचित मूल्य नपाएको गुनासो बढेको उनीहरू बताउँछन्।
सीमावर्ती नाकाबाट अमुलका क्रिम, बटर, चिज तथा ठूलो मात्रामा कस्मेटिक सामग्री भरियामार्फत भुताहा, बर्दघाट, चिसापानी र लन्डन ब्रिज क्षेत्र हुँदै बसमार्फत काठमाडौंसम्म पुर्‍याइने गरेको आरोप पनि स्थानीयले लगाएका छन्।
त्यस्तै कफीका दाना, कपडा, हुक्का फ्लेवर, मोबाइल, टेम्पर ग्लास, रेडिमेड कपडा, टायल लगायतका सामग्री तथा माछा, कुखुरा, राँगा र बोका जस्ता पशुपन्छीसमेत अवैध रूपमा ओसारपसार भइरहेको स्थानीयको दाबी छ।
स्थानीयवासीले तस्करी नियन्त्रणका नाममा साना व्यापारीमाथि मात्रै कडाइ हुने तर ठूलो तस्करी नियन्त्रणमा प्रभावकारी कदम नचालिएको आरोप लगाउँदै निष्पक्ष निगरानी र कडा कारबाहीको माग गरेका छन्।
यसैबीच, गत सोमबार मुडेर नाकाबाट नेपाल नम्बरको ट्र्याक्टर–ट्रलीसहित फर्सीको बीऊ भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो। केही दिनअघि कुखुरा तस्करीका क्रममा नेपाल प्रहरी र तस्करबीच झडपसमेत भएको स्थानीय स्रोतले जनाएको छ।
सीमा सुरक्षासम्बन्धी जानकारहरूका अनुसार तस्करी नियन्त्रण सबै सुरक्षा निकायको साझा जिम्मेवारी भए पनि सीमा निगरानीमा सशस्त्र प्रहरी बलको सक्रियता नै मुख्य रूपमा निर्णायक मानिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित