राजन कुमार बानिया /पर्सा, ११ जेठ
पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीय नागरिकले दैनिक उपभोग्य सामग्री ओसारपसारमा विभिन्न अवरोध र असहजता भोग्नुपरेको गुनासो गरेपछि प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य सक्रिय भएका छन् ।
सीमावर्ती जनताको समस्यालाई मध्यनजर गर्दै सांसद शाक्यको पहलमा बाघमुर्चा पोस्टमा समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा जिल्ला सशस्त्र प्रहरी बलका प्रमुख एसपी मोहन क्षेत्रीको रोहवरमा क्षेत्र नम्बर ४ अन्तर्गत रहेका सम्पूर्ण बीओपी प्रमुखहरूको उपस्थिति रहेको थियो ।
बैठकमा सांसद शाक्यले सीमावर्ती क्षेत्रमा बसोवास गर्ने नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका खाद्यान्नलगायत उपभोग्य सामग्री तथा अन्य आवश्यक सामग्री ओसारपसारमा कठिनाइ हुँदा जनजीवन प्रभावित भएको उल्लेख गर्दै आवश्यक सहजीकरण गर्न सुझाव दिएका थिए । उनले सीमामा बसोवास गर्ने नागरिकका समस्या राज्यका निकायले संवेदनशील रूपमा बुझ्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा जिल्ला सशस्त्र प्रहरी प्रमुख एसपी मोहन क्षेत्रीले सीमावर्ती जनताको समस्याप्रति आफू गम्भीर रहेको बताउँदै जनताको सहज जीवनयापनका लागि सशस्त्र प्रहरी सधैँ सकारात्मक रहेको धारणा व्यक्त गरे । उनले कानुनी व्यवस्था र जनताको आवश्यकतालाई सन्तुलनमा राखेर काम गरिने प्रतिबद्धता समेत जनाए ।
सीमावर्ती क्षेत्रबाट लगातार गुनासो आउन थालेपछि सांसद शाक्यले सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गरी बैठक आयोजना गरेका हुन् । स्थानीयवासीले पनि यस पहलबाट सीमाक्षेत्रमा देखिएको समस्या समाधानतर्फ सकारात्मक वातावरण बन्ने अपेक्षा गरेका छन् ।

पर्सा क्षेत्र नम्बर ४ का सीमावर्ती बासिन्दा दैनिक रूपमा भारतीय बजारसँग जोडिएर उपभोग्य सामग्री खरिद गर्ने भएकाले पछिल्ला दिनमा देखिएको कडाइले उनीहरूको दैनिकीमा असर परेको बताइएको छ । यस्तो अवस्थामा सांसद शाक्यको पहललाई सीमावर्ती जनताले सकारात्मक रूपमा लिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

