बिनोद निगम/ नवलपरासी ,६ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नरेन्द्र कुमार गुप्ताले धान रोपाइँको सिजन सुरु भइसकेको भन्दै किसानलाई आवश्यक पर्ने रासायनिक मलको अभाव हुन नदिन सरकारसँग तत्काल पर्याप्त मल उपलब्ध गराउन माग गरेका छन्।
प्रतिनिधिसभा मंगलवारको बैठकमा बोल्दै सांसद गुप्ताले समयमै मल उपलब्ध नभए किसान प्रत्यक्ष रूपमा प्रभावित हुने उल्लेख गर्दै कृषि क्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।
धान रोपाइँ सुरु भइसकेको छ, किसानलाई आवश्यक मल समयमा उपलब्ध गराउन नसके उत्पादनमा प्रत्यक्ष असर पर्छ उनले भने।
त्यसैगरी, उनले तराई–मधेस क्षेत्रमा सहज यातायात पहुँच विस्तारका लागि कोस्टल हाइवे निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे। झापाको केचनादेखि कञ्चनपुरको दोधारा–चाँदनीसम्म जोड्ने प्रस्तावित कोस्टल हाइवे राष्ट्रिय महत्वको आयोजना भए पनि सरकारले आवश्यक बजेट तथा प्राथमिकता नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
सांसद गुप्ताले राणाकालदेखि नै तराई–मधेस क्षेत्रमा सहज यातायात विस्तार गर्ने लक्ष्यअनुसार उक्त मार्गको अवधारणा अघि सारिएको स्मरण गराउँदै हालसम्म पनि सो क्षेत्रका नागरिकले आवागमनमा समस्या भोगिरहेको बताए।
उनले तराई–मधेसलाई जोड्ने उक्त सडकलाई ‘तराई–मधेस राष्ट्रिय लेकमार्ग’ का रूपमा विकास गरी चार लेनको सडक निर्माण गर्नुपर्ने धारणा राखे। साथै, उक्त मार्गलाई प्रमुख व्यापारिक सडक सञ्जालसँग जोड्न सके आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने उनको भनाइ थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

