बारा, ६ जेठ
बाराको कवहिगोठ नाका यतिबेला तस्करहरूको लागि सुरक्षित मार्ग बन्दै गएको आरोप सार्वजनिक भएको छ। स्थानीयवासी तथा सीमाक्षेत्रका व्यापारीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा व्यापक रूपमा तस्करी तथा हुण्डी कारोबार सञ्चालन भइरहेको गुनासो गरेका छन्।
स्थानीयका अनुसार भारतसँग जोडिएको उक्त नाकाबाट कपडा, हार्डवेयर सामग्री, कस्मेटिक सामानदेखि हुण्डीसम्मको अवैध कारोबार खुलेआम भइरहेको छ। तस्करीमा संलग्न समूहले बिहान, बेलुका, दिउँसो तथा रातिको समयमा समेत सहज रूपमा मालसामान नेपाल भित्र्याइरहेको आरोप छ।
सीमावर्ती क्षेत्रका बासिन्दाहरूले ईलाका प्रहरी कार्यालय कवहिगोठ र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट कवहिगोठको संरक्षणमै तस्करी मौलाएको दाबी गरेका छन्। उनीहरूका अनुसार अवैध रूपमा भित्रिएको सामान बरियारपुर बजारसम्म निर्वाध रूपमा पुग्ने गरेको छ।
ईलाका प्रहरी कार्यालय कवहिगोठका प्रमुख प्रहरी नायब निरीक्षक (सई) रामकिसुन यादवमाथि समेत स्थानीयले गम्भीर आरोप लगाएका छन्। स्थानीय स्रोतका अनुसार उनी कार्यालयमा आएपछि तस्करी झन् बढेको दाबी गरिएको छ। स्रोतहरूले प्रहरी संगठनकै नाम प्रयोग गर्दै रकम असुली गरी तस्करीको “लाइन” दिइएको आरोपसमेत लगाएका छन्।
नाम नछाप्ने सर्तमा एक व्यापारीले रातिको समयमा तस्करीको सामान “स्कर्टिङ” गरेर पार गराउने कामसमेत हुने गरेको दाबी गरे। अर्का एक व्यक्तिका अनुसार सर्वसाधारणले सामान्य सामान ल्याउँदा समेत कडाइ हुने गरे पनि ठूलो परिमाणको तस्करी भने सहज रूपमा भइरहेको छ।

स्थानीयले साना व्यापारी र सर्वसाधारणमाथि कडाइ गरिए पनि ठूला तस्करहरूसँग मिलेमतो गरी लाखौँ रुपैयाँ असुली गरेर अवैध कारोबार सञ्चालन गराइएको आरोप लगाएका छन्।
यस विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलाई सम्पर्क गर्ने प्रयास गरिएको भए पनि फोन सम्पर्क हुन सकेन।
घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीयले माग गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

