Rashtriya Dainik

पर्यटक र बरामद सामानमै भर त्रिवेणी भन्सारको आम्दानी

बिनोद निगम – अनिल / नवलपरासी ,१० वैशाख

गण्डक प्रदेशअन्तर्गत पर्ने पूर्वी नवलपरासीको त्रिवेणी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म १ करोड १५ लाख ८२ हजार ५ सय ८१ रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। उक्त संकलन वार्षिक लक्ष्यको ६५.२६ प्रतिशत मात्र रहेको कार्यालय प्रमुख तुलसी राम चौधरीले जानकारी दिए।

मासिक विवरणअनुसार राजस्व संकलनमा उल्लेख्य उतारचढाव देखिएको छ। श्रावणमा १४ लाख ७३ हजार ३ सय ९७ रुपैयाँ संकलन भएकोमा भदौमा घटेर ८ लाख १२ हजार ४ सय ५५ रुपैयाँमा झरेको थियो। असोजमा ८ लाख ६० हजार ५ सय ३५ रुपैयाँ मात्र उठ्दा कात्तिकमा केही सुधार हुँदै ११ लाख ५२ हजार ३ सय रुपैयाँ पुगेको देखिन्छ।

मंसिरमा ११ लाख ३६ हजार ९ सय ८४ रुपैयाँ, पुसमा १५ लाख ८३ हजार ३ सय रुपैयाँ संकलन भएको छ भने माघ महिनामा सबैभन्दा बढी १७ लाख ९६ हजार २ सय रुपैयाँ राजस्व उठेको छ। फागुनमा पुनः घटेर १२ लाख ४९ हजार ३ सय रुपैयाँमा सीमित हुँदा चैतमा १४ लाख ४६ हजार ३ सय ४० रुपैयाँ संकलन भएको छ।

भन्सार कार्यालयले अपेक्षित लक्ष्यअनुसार राजस्व उठाउन नसकेको स्पष्ट देखिन्छ। सीमावर्ती व्यापारको न्यून गतिविधि तथा समग्र आर्थिक मन्दीका कारण राजस्व संकलनमा प्रभाव परेको हुन सक्ने अनुमान गरिएको छ।

कार्यालयका अनुसार माघ महिनामा भने छिमेकी भारतको बिहार राज्यबाट गण्डकी प्रदेशस्थित त्रिवेणीधाम भ्रमणका लागि आउने पर्यटक तथा तीर्थयात्रुका सवारी साधनबाट उठ्ने भन्सारले राजस्वमा केही वृद्धि गरेको हो। साथै, विभिन्न सुरक्षा निकायले बरामद गरी भन्सारमा बुझाइने सामानबाट पनि आंशिक राजस्व संकलन हुँदै आएको छ।

विशेषगरी त्रिवेणी गण्डक ब्यारेजका कारण यस नाकाबाट हालसम्म नियमित आयात–निर्यात सञ्चालन हुन नसकेको अवस्था रहेको छ। औपचारिक व्यापार नहुँदा यो नाका राजस्व संकलनको हिसाबले सीमित दायरामै खुम्चिएको देखिन्छ। यही कारणले तोकिएको लक्ष्य हासिल गर्नु कठिन देखिएको सरोकारवालाहरू बताउँछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित