Rashtriya Dainik

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पश्चिम नवलपरासीमा अन्तरक्रिया, निजी मिडियामाथि गम्भीर असरको चिन्ता

राष्ट्रिय दैनिक /नवलपरासी,१० बैशाख

नेपाल प्रेस युनियन पश्चिम नवलपरासीको आयोजनामा सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा रोकिँदा पर्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरूले सरकारको पछिल्लो निर्णयले निजी तथा स्वतन्त्र मिडियामा गम्भीर आर्थिक संकट निम्त्याउने भन्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्।

कार्यक्रममा बोल्दै युनियनका सभापति उमेश बि.कले सरकारी विज्ञापनलाई केवल सरकारी स्वामित्वका सञ्चारमाध्यममा सीमित गर्ने नीति प्रेस स्वतन्त्रता र सूचनाको बहुलतामाथि आघात भएको बताए। उनले यस्तो निर्णयले निजी सञ्चारगृहहरूको अस्तित्व नै संकटमा पर्ने उल्लेख गरे।

प्रेस चौतारी नवलपरासीका अध्यक्ष गौरीशंकर जैसवालले सरकारी कदमले मिडिया क्षेत्रमा रोजगारी गुम्ने अवस्था सिर्जना हुने चेतावनी दिए।

त्यस्तै प्रेस युनियनका पूर्व सभापति आर.पी. उपाध्यायले सूचनाको सन्तुलन र विविधता कायम राख्न निजी मिडियालाई समान अवसर दिनुपर्नेमा जोड दिए।

युनियनका उपसभापति सद्दाम हुसेन अन्सारीले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको उल्लेख गर्दै सरकारी निर्णय सच्याउन आग्रह गरे।


नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष मालती न्यौपानेले सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रता कमजोर पार्ने कुनै पनि नीतिलाई सच्याउन सबै सरोकारवालाको एकजुटता आवश्यक रहेको बताइन्।

कार्यक्रममा सहभागी मिडिया सञ्चालक, सम्पादक, पत्रकार तथा विज्ञहरूले सरकारी विज्ञापन वितरणमा पारदर्शी र समावेशी नीति आवश्यक रहेको सुझाव दिएका थिए। उनीहरूले मितव्ययिताको नाममा निजी मिडियालाई बेवास्ता गर्दा दीर्घकालीन रूपमा लोकतन्त्र नै कमजोर हुने धारणा राखे।

कार्यक्रमका निष्कर्ष तथा सुझावहरू संकलन गरी केन्द्रमा पठाइने युनियनका सचिव अनिल यादवले जानकारी दिए। उनले विस्तृत प्रतिवेदन तयार गरी नेपाल प्रेस युनियन केन्द्रीय कार्यालयमा पेश गरिने बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित