राष्ट्रिय दैनिक / नवलपरासी ,९ गते ।
पश्चिम नवलपरासी जिल्लाका संघीय सांसदहरू र जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयका प्रमुख एवं विकास निर्माण आयोजनाका प्रमुखहरूबीच बुधबार छलफल भएको छ। जिल्ला प्रशासन कार्यालयमा आयोजित उक्त कार्यक्रममा सांसदहरूले सरकारी सेवालाई चुस्त-दुरुस्त र जनमुखी बनाउन विशेष निर्देशन दिएका छन्।
छलफलको मुख्य एजेन्डा सेवा प्रवाहमा हुने ढिलासुस्ती अन्त्य गर्नु रहेको थियो। सांसदहरूले “भोलि होइन आज, आज होइन अहिल्यै” भन्ने मूल मान्यतालाई आत्मसात गर्दै सेवाग्राहीलाई कुनै पनि बहानामा नकुराउन र प्रभावकारी ढङ्गले काम सम्पन्न गर्न जोड दिएका छन्।

छलफलमा बोल्दै सांसद विक्रम खनालले विकास निर्माणमा हुने सुस्तताले जनतामा निराशा छाएको बताउनुभयो। उहाँले भन्नुभयो, “आयोजना प्रमुखहरूले बजेटको अभाव देखाएर काम रोक्न पाउनुहुन्न, जनताको पसिनाबाट उठेको करको सही सदुपयोग गर्दै समयमै आयोजना सम्पन्न हुनुपर्छ।”
अर्का सांसद नरेन्द्र कुमार गुप्ताले प्रशासनिक सुधारमा जोड दिँदै भन्नुभयो, “सरकारी कार्यालयमा आउने सेवाग्राहीले सम्मानजनक व्यवहार पाउनुपर्छ। प्रविधिको प्रयोग बढाएर सेवालाई झन्झटमुक्त बनाउनु नै अहिलेको आवश्यकता हो।”
त्यसैगरी, सांसद रिङ्गला यादवले भन्नुभयो, “दुर्गम क्षेत्रका नागरिकहरू टाढाबाट काम लिएर आउँदा एउटै कामका लागि पटक-पटक धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। सेवा प्रवाहमा पारदर्शिता र इमानदारिता देखिनुपर्छ।”

जिल्लाको प्रशासनिक अवस्था र सेवा प्रवाहको वस्तुस्थितिबारे जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले सांसदहरूको निर्देशनलाई पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहांले भन्नुभयो, “जिल्लाका सबै सरकारी निकाय र आयोजनाहरूलाई अझ बढी जिम्मेवार बनाउन हामीले अनुगमनलाई तीव्र पारेका छौँ। माननीयज्यूहरूले उठाउनुभएको ‘तुरुन्त सेवा’को अवधारणालाई कार्यान्वयन गर्न हामी कटिबद्ध छौँ। काममा लापरबाही गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गरिनेछ।”

कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरूले आ-आफ्नो कार्यालयको प्रगति र चुनौतीबारे जानकारी गराएका थिए। यस छलफलले जिल्लाको विकास र सेवा प्रवाहमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

