Rashtriya Dainik

मधेश प्रदेश प्रहरीभित्र ‘सेटिङ’को जालो? निर्दोष फसाउने खेलको आशंका

कृष्ण यादव / जनकपुरधाम,८ बैशाख

मधेश प्रदेश प्रहरी संगठनभित्र गम्भीर आरोप–प्रत्यारोप र आन्तरिक खिचातानी तीव्र बन्दै गएको छ। सीमा क्षेत्रमा हुने तस्करीसँग जोडिएका व्यक्तिसँगको ‘सेटिङ’ सार्वजनिक हुने त्रासका कारण कनिष्ठ कर्मचारीलाई बलिको बोका बनाउने प्रयास भइरहेको आरोप सार्वजनिक भएको छ।

जानकी चौकी इन्चार्ज हुँदै जिल्ला प्रहरी कार्यालय धनुषामा क्राइम इन्चार्जका रूपमा कार्यरत वरिष्ठ सई राणालाई योजनाबद्ध रूपमा फसाउने प्रयास भएको स्रोतको दाबी छ। डिआइजी गोविन्द थपलियाका विश्वासपात्र मानिएका वरिष्ठ सई जयलाल यादव र गोपाल थापा मगरले विभिन्न जालझेल र प्रपञ्च रच्दै राणालाई विवादमा तान्न खोजिएको आरोप लगाइएको छ।
करिब एक महिना अघि तस्कर महासेठको १५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद भएपछि प्रहरीभित्र असन्तुष्टि बढेको र त्यसकै प्रतिशोधस्वरूप यस्तो खेल सुरु भएको बताइन्छ।
यसैबीच, वरिष्ठ सई राणा र व्यापारी महासेठबीचको भनिएको अडियो संवाद सार्वजनिक भएको छ। उक्त अडियोमा राणाले आफूविरुद्ध षड्यन्त्र भइरहेको, कुनै पनि व्यापारीसँग साँठगाँठ नरहेको र प्रमाणित भएमा कारवाही भोग्न तयार रहेको अभिव्यक्ति दिएका छन्। साथै, आफू निर्दोष हुँदाहुँदै नाम जोडिँदा मानसिक तनावमा परेको बताएका छन्।
अडियो सार्वजनिक भएसँगै प्रदेश प्रहरी कार्यालय जनकपुरधामले राणाविरुद्ध विभागीय कारवाही सिफारिस गरेको छ, जसले संगठनभित्रको विवाद झन् चर्किएको छ।
उता, डिआइजीका निकट मानिएका जयलाल यादव पर्सा प्रहरी कार्यालय वीरगञ्जमा दरबन्दी भए पनि काजमा सिरहा बसेर सप्तरीसम्म ‘असुली धन्धा’ सञ्चालन गरेको आरोप छ। अर्का वरिष्ठ सई गोपाल थापा मगरसहित केही प्रहरी अधिकारीमाथि पनि विभिन्न जिल्लाबाट रकम संकलन, प्रभाव विस्तार र अवैध गतिविधिमा संलग्न रहेको आरोप लागेको छ।
स्रोतका अनुसार, मगरलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिए पनि उच्च पहुँचका कारण पुनः जनकपुर फर्काइएको दाबी गरिएको छ।
यसैगरी, सर्लाही क्षेत्रबाट समेत नियमित रूपमा रकम संकलन गरी उच्च अधिकारीसम्म पुर्‍याइने गरिएको आरोप छ। पर्सा प्रहरी चौकी सर्लाहीमा कार्यरत सई रोशन अधिकारीले मासिक रूपमा ‘भागबन्डा’ रकम जनकपुरसम्म पुर्‍याउने गरेको दाबी गरिएको छ।
एक पूर्व प्रहरीका अनुसार संगठनभित्रको आर्थिक लेनदेन र भ्रष्टाचार सार्वजनिक हुन थालेपछि ठूला पदाधिकारी जोगिने र साना कर्मचारीमाथि कारवाही हुने प्रवृत्ति बढ्दो छ।
यता, मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै संगठनको अनुशासन कायम राख्न कारवाही सिफारिस गरिएको बताएका छन्।
यस घटनाले गम्भीर प्रश्न उठाएको छ—के वास्तवमै भ्रष्टाचारविरुद्ध कारवाही भइरहेको हो, वा सत्य लुकाउन निर्दोषलाई फसाइँदैछ?

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित