Rashtriya Dainik

बर्दघाटमा पर्यटन बहस: सञ्चारकर्मी–जनप्रतिनिधि एउटै मञ्चमा, विकासका ठूला योजना अघि सारिँदै

राष्ट्रिय दैनिक / नवलपरासी, ८ बैशाख

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पर्यटन क्षेत्रको भविष्य र सम्भावनाबारे गहिरो बहस सम्पन्न भएको छ।

बर्दघाट नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको विकास, प्रवर्द्धन तथा सम्भावनाबारे सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।

बर्दघाट नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजनामा सम्पन्न कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो।

पहिलो दिन बर्दघाट नगरपालिका अन्तर्गतका कञ्चनगढी, बनदेवी मन्दिर, बुद्ध मंगल ताल तथा बाउन्न घोला सिमसार क्षेत्रको अवलोकन गरिएको हो। त्यस्तै दाेस्राे दिन अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मी र जनप्रतिनिधिहरू एउटै मञ्चमा सहभागी भइ बर्दघाटलाई पर्यटन हब बनाउने बहस भएको हाे।

नेपाल पत्रकार महासंघ नवलपरासीका कार्यवाहक अध्यक्ष बिकास अधिकारीको अध्यक्षता तथा नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटलाई दीगो पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउँदै सञ्चार क्षेत्रको सक्रिय भूमिका अपरिहार्य भएको उल्लेख गरे। उनले चुरे क्षेत्र, पर्यापर्यटन पार्कलगायत स्थलहरूको स्तरोन्नति र पूर्वाधार विस्तारमा तीव्रता दिइएको जानकारी दिए।

उपप्रमुख रुद्र प्रकाश उपाध्यायले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा काम अघि बढाइएको बताए भने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सञ्चारकर्मीका सुझावलाई आगामी बजेटमा समेटिने प्रतिबद्धता जनाए।

त्यसैगरी नगर प्रवक्ता सन्तबहादुर गाहाले ओझेलमा परेका पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धनमा तथ्यपरक पत्रकारिताको आवश्यकता औंल्याए।

पत्रकार महासंघका निवर्तमान अध्यक्ष हरी शर्माले स्थानीय तहको बिकासमा स्थानीय सञ्चार माध्यमहरुले अतुलनीय भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिए ।राज्यले मिडियालाई अङ्कुश लगाउन खोजेको बताउदै उनले श्रमजीवी पत्रकार हखित र सञ्चार माध्यमको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको समेत रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियन नवलपरासीका सभापति उमेश बि.क.ले स्थानीय विकासमा सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै मिडियाको स्वतन्त्रता र पत्रकारको अधिकार संरक्षणमा राज्य गम्भीर हुनुपर्ने धारणा राखे।


कार्यक्रममा महासंघका सदस्य मुक्ति तिवारीले विभिन्न पर्यटकीय गन्तव्यहरूको अध्ययन गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए।

सहभागीहरूले बर्दघाटका पर्यटन सम्भावनालाई उजागर गर्दै पूर्वाधार, पहुँच, सरसफाइ र प्रचार–प्रसारमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए। कार्यक्रमको सञ्चालन सचिव अनिल यादवले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित