Rashtriya Dainik

सीमावर्ती उपभोक्ताका समस्या समाधान गर्न सांसद खनालको पहल

राष्ट्रिय दैनिक / नवलपरासी, बैशाख ८ गते

पश्चिम नवलपरासीका सीमावर्ती क्षेत्रका बासिन्दाले भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु ल्याउँदा भोग्दै आएको भन्सारसम्बन्धी समस्या समाधानका लागि स्थानीयस्तरमा सहजीकरणको पहल थालिएको छ।

संघीय सांसद विक्रम खनालले सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर, पश्चिम नवलपरासीका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गोवीन्द खातीसँग भेटवार्ता गरी सीमावर्ती आम उपभोक्ताहरूलाई परेको समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको छ ।

विगत केही समययता भारतबाट सामान ल्याउँदा भन्सार प्रावधानमा कडाइ गरिएपछि सीमावर्ती नागरिकहरूले दैनिक उपभोग्य वस्तु ल्याउन समेत कठिनाइ भोग्दै आएका थिए । विशेषगरी, भारतीय बजारबाट सामान ल्याउँदा भन्सार दर र नियमानुसारको प्रतिबन्धका कारण सामान्य नागरिकहरू मारमा पर्दै आएका थिए ।

यही समस्यालाई मध्यनजर गर्दै, सांसद खनालले सुरक्षा निकायसँगको समन्वयमा कानुनको परिधिभित्र रही स्थानीय उपभोक्ताहरूलाई दैनिक जीवनमा सहजता प्रदान गर्ने उद्देश्यले यो पहल सुरु गर्नुभएको हो । भेटका क्रममा सांसद खनालले सीमावर्ती नागरिकहरूको दैनिक जनजीवनमा पर्ने प्रभाव र उनीहरूले भोगिरहेको व्यावहारिक कठिनाइका विषयमा स्पष्ट पार्दै सुरक्षा निकायको तर्फबाट आवश्यक सहजीकरणका लागि आग्रह गर्नुभएको थियो।

सुरक्षा प्रमुख एसपी गोवीन्द खातीसँगको छलफलमा कानुनको पूर्ण पालना र सर्वसाधारणको सहजतालाई कसरी सन्तुलनमा राख्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। सांसद खनालले सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुको आवागमनमा अनावश्यक झन्झट नहोस् भन्ने कुरामा जोड दिनुभएको छ।
यस पहलले घरायसी कामका लागि सीमा वारपार गर्ने नागरिकहरूलाई केही हदसम्म राहत पुग्ने विश्वास लिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित