राष्ट्रिय दैनिक / नवलपरासी ,७ बैशाख
नेपाल पत्रकार महासंघ नवलपरासीले बर्दघाट नगरपालिका अन्तर्गत रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको स्थलगत अवलोकन गरेको छ। महासंघका उपाध्यक्ष बिकाश अधिकारीको नेतृत्वमा नेपाल पत्रकार महासंघ नवलपरासीमा आवद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अवलोकनका क्रममा यहाँका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो सम्भावना बोकेको निष्कर्ष निकालिएको छ।

बर्दघाट–५ स्थित कञ्चनगढी क्षेत्र आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। उक्त स्थानमा भगवान् शिवको विशाल मूर्ति स्थापना गरिएको छ भने पुरातात्विक अवशेषसमेत भेटिएका छन्। बाल उद्यान, बनभोजका लागि ट्रस्ट, झोलुङ्गे पुल, चमेरो गुफा र झर्नाजस्ता संरचनाले क्षेत्रलाई थप रमणीय बनाएको छ। कञ्चनगढी नेपाल सरकारले सूचीकृत गरेका १०० पर्यटकीय गन्तव्यभित्र पर्ने भएकाले यसको प्रवर्द्धन अपरिहार्य रहेको वडा नं. ५ की अध्यक्ष बिमला गुरुङले बताउनुभयो।

त्यस्तै बर्दघाट–१६ मा रहेको बनदेवी मन्दिर थारु समुदायको आस्थाको केन्द्रका रूपमा परिचित छ।

वडा अध्यक्ष भिमकाजी गुरुङका अनुसार २०२९/३० सालतिर स्थानीय समुदायले जंगल क्षेत्रमा बसोबास सुरु गर्दा नै उक्त मन्दिर देखिएको हो। थारु समुदायले नयाँ अन्न उत्पादन भएपछि पहिलो अर्पण बनदेवीलाई चढाउने परम्परा आज पनि कायम रहेको छ। स्थानीय तहले यस क्षेत्रको विकासमा काम गरिरहेको जनाएको छ।

बर्दघाट–१२ दबिलामा अवस्थित बुद्ध मंगल ताल पनि धार्मिक तथा पर्यापर्यटनको दृष्टिले महत्वपूर्ण स्थल बनेको छ।

भगवान् गौतम बुद्धसँग जोडिएको मानिने यस तालको बीचमा १२ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिएको छ, जसले यसको ऐतिहासिक र धार्मिक महत्व बढाएको छ। करिब सात बिघा क्षेत्रफलमा फैलिएको ताल वरपर सरस्वती मन्दिर, शिवालय, गुम्बा, १०८ शिवलिङ्ग, प्रतीक्षालय र सामुदायिक वनजस्ता संरचना निर्माण गरिएका छन्।

सिमसार क्षेत्र भएकाले यहाँ विभिन्न जलचर तथा चराचुरुङ्गीको बसोबास रहेको छ, जसले यसलाई जैविक विविधताको केन्द्र बनाएको छ।

यस्तै बर्दघाट–१० स्थित बाउन्न घोला सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको छ। यहाँ पोखरी निर्माण, पुल, तारबार तथा अन्य पर्यटकमैत्री पूर्वाधार तयार गरिएको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार जैविक विविधता संरक्षणसँगै पर्यापर्यटन विकास गर्ने लक्ष्यका साथ सिमसार क्षेत्रको प्रवर्द्धन भइरहेको छ।

शान्त वातावरण, प्राकृतिक सौन्दर्य र सहज पहुँचका कारण यहाँ दैनिक घुम्न आउने, फोटो तथा भिडियो खिच्ने, सामाजिक सञ्जालका सामग्री बनाउनेहरूको भीड लाग्ने गरेको छ। पूर्व–पश्चिम राजमार्गसँग नजिकै रहेकोले यात्रुहरू पनि यहाँ रोकिएर अवलोकन गर्ने गरेका छन्।

बर्दघाटका यी क्षेत्रहरू धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संयोजनका रूपमा उभिएका छन्, जसको दीगो विकास र प्रवर्द्धनले आन्तरिक तथा बाह्य पर्यटनलाई थप टेवा पुर्याउने देखिन्छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

