Rashtriya Dainik

भारत-नेपाल पत्रकारको ऐतिहासिक एकता, सीमावर्ती मुद्दामा संयुक्त रणनीति तयार

राष्ट्रिय दैनिक / नेपाल ,७ बैशाख

भारत-नेपाल सीमावर्ती क्षेत्रमा क्रियाशील पत्रकारहरूको महत्वपूर्ण बैठक छितौनी इन्टर कलेजमा सम्पन्न भएको छ। इन्डो-नेपाल बोर्डर पत्रकार संघद्वारा आयोजित उक्त बैठकमा भारत र नेपालका दर्जनौं पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकको अध्यक्षता संघका अध्यक्ष कौशल कुमार (बगहा, बिहार) ले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कुम्भकार समाजका जिल्ला अध्यक्ष तथा प्रवक्ता सुनील प्रजापति तथा छितौनी नगर पंचायतका अध्यक्ष अशोक निषादको उपस्थिति रहेको थियो।

नेपालको त्रिवेणीबाट सहभागी वरिष्ठ पत्रकार आरपी उपाध्यायले संघमार्फत सीमावर्ती क्षेत्रका समस्याहरूलाई प्रभावकारी रूपमा उठाइने बताए। उनले पत्रकारहरूको दायित्व सीमित नभई जनताको आवाज सरकार र सम्बन्धित निकायसम्म पुर्‍याउनु भएको उल्लेख गर्दै समाधानमुखी पत्रकारितामा जोड दिए।

यसैगरी प्रमुख अतिथि सुनील प्रजापतिले भारत-नेपालबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए। उनले सीमावर्ती क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारका समस्या उजागर गरी समाधानका लागि दबाब सिर्जना गर्न पत्रकारहरू सक्रिय हुनुपर्ने धारणा राखे।

छितौनी नगर पंचायतका अध्यक्ष अशोक निषादले सीमावर्ती क्षेत्रको विकासका लागि दुवै देशका पत्रकारहरूले समन्वय गरेर सकारात्मक खबरदारी गर्नुपर्ने बताए। उनले यस्ता बैठकले आपसी सहकार्य र समझदारी बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा स्थानीय तहबाट समेत आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।

संघका अध्यक्ष कौशल कुमारले आगामी संगठनात्मक निर्वाचनबारे आवश्यक निर्देशन दिँदै सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आगामी दिनमा उत्तर प्रदेश, बिहार र नेपालमा संयुक्त रूपमा वृक्षारोपण अभियान तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना प्रस्तुत गरे।

बैठकमा सहभागी पत्रकारहरूले भारत र नेपालबीचको सांस्कृतिक, सामाजिक तथा ‘रोटी-बेटी’ सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। साथै सीमावर्ती क्षेत्रका समस्याहरू उजागर गर्न निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वरिष्ठ पत्रकार मानवेंद्र पाण्डेय, रविश मिश्र, अर्जुन जायसवाल, संजय पाण्डेय, नत्थु शर्मा, जेपी वर्मा, उमेश बि.क लगायतका पत्रकारहरूको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित