आरपि उपाध्याय/ चितवन,६ बैशाख
विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिर बाल्मिकी आश्रम व्यवस्थापन समिति र भारतीय धर्म गुरु मुरारी बापुका प्रतिनिधिबीच सौहाद्रपूर्ण बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शनिबार भैसालोटनस्थित एक रिसोर्टमा सम्पन्न दुई पक्षीय बैठकमा मन्दिर तथा आश्रमको अवस्था सुधार र आवश्यक पूर्वाधार विकासलाई आपसी सहमतिमा अघि बढाउने विषयमा छलफल भएको हो।
यसअघि बाल्मिकी आश्रममा भ्रमण गरेका धर्मगुरु बापुले मन्दिरको वर्तमान अवस्था सुधार र विकासका योजनाहरू सहकार्यमा अघि बढाउन सकिने धारणा राखेका थिए।
बैठकमा बापु पक्षका प्रतिनिधि अमर तुलस्यान, आशुतोष द्विवेदी र प्रणव तुलस्यान सहभागी थिए भने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम उपाध्याय, सचिव गोविन्द शर्मा, सह–कोषाध्यक्ष रामअवतार कुशवाह, गोपाल पाठक तथा टेकबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो।
छलफलका क्रममा खानेपानी, बोरिङ व्यवस्थापन, पानी ट्यांकी स्ट्यान्ड निर्माण तथा खोलादेखि मन्दिरसम्म टायल बिछ्याउनेजस्ता पूर्वाधार विकासका कार्यहरू विधि–प्रक्रिया अनुसार अघि बढाउने विषयमा सहमति भएको जनाइएको छ।

बाल्मिकी आश्रम नेपालको प्रमुख धार्मिक धरोहर भए पनि चितवन राष्ट्रिय निकुञ्जसँग सम्बन्धित कानुनी जटिलताका कारण विकास निर्माणले गति लिन नसकेको बताइएको छ। विश्व सनातन धर्म स्थापनार्थ केन्द्रिय समितिका अध्यक्ष दीपक जंग रायमाझीका अनुसार आवश्यक कानुनी प्रक्रिया पुर्याउने दिशामा पहल भइरहेको छ।
दुवै पक्षका प्रतिनिधिहरूले आइतबार बाल्मिकी आश्रमस्थित सीता माता मन्दिर र आसपासका क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

