Rashtriya Dainik

सुस्ताको अनोमा घाटमा बौद्ध पर्यटन उकालो, ‘बुद्धिस्ट सर्किट’मा जोड्ने तयारी तीव्र

राष्ट्रिय दैनिक /नवलपरासी ,५ बैशाख

सुस्ता गाउँपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक क्षेत्र ‘अनोमा घाट’ (ठाडिघाट) मा पछिल्लो समय बौद्ध धर्मावलम्बी तथा पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ। बुद्धकालीन महत्त्व बोकेको यस स्थलले बिस्तारै राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन थालेको छ।

बौद्ध धर्मग्रन्थअनुसार राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजदरबार त्याग गरेपछि पहिलो पटक प्रवज्या (दीक्षा) लिएको स्थलका रूपमा अनोमा घाट परिचित छ। बुद्धत्व प्राप्तिको यात्रा सुरु भएको पहिलो विन्दुका रूपमा यस क्षेत्रको विशेष आध्यात्मिक महत्त्व रहेको बौद्ध विद्वानहरू बताउँछन्।

लुम्बिनी र कपिलवस्तु जस्ता स्थापित बुद्धकालीन स्थलहरूको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू पछिल्लो समय अनोमा नदी किनार अवलोकन गर्न सुस्ता पुग्न थालेका छन्। यसले ओझेलमा परेको ऐतिहासिक स्थलप्रति चासो बढ्दै गएको संकेत गरेको छ।

हाल यस क्षेत्रमा विभिन्न बौद्ध विहारहरूको निर्माण तथा संरक्षणका प्रयासहरू तीव्र पारिएका छन्। बौद्ध स्थलहरूको संरक्षण र प्रवर्द्धनमा सक्रिय ‘अनोमा नेपाल’ संस्थाले भौतिक पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि सरकारी तथा दातृ निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।

यसैबीच, रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका भिक्षु, भिक्षुणी तथा उपासकहरूको टोलीले हालै अनोमा घाटको अवलोकन भ्रमण गरेको छ। भन्ते शासनध्वज धर्माचार्य र भिक्षु आनन्द स्थविरको नेतृत्वमा २५ जनाको टोलीले महाभिनिष्क्रमण स्थलको निरीक्षण गरेको हो।

अनोमा नेपालका महासचिव अशोक मानन्धरका अनुसार, अनोमा क्षेत्रलाई बौद्ध पर्यटकीय केन्द्रका रूपमा विकास गर्न संस्थागत पहल तीव्र बनाइएको छ। “अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि विभिन्न मन्त्रालय र दातृ निकायसँग सहकार्य भइरहेको छ,” उनले बताए।

यस्तै, त्रिवेणीस्थित ज्येती बौद्ध विहारका अध्यक्ष सिंहबहादुर थापाले यस्ता भ्रमणहरूले क्षेत्रको पहिचान विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। स्थानीय अनोमा बुद्ध विहारका अध्यक्ष सुग्रीव यादवले विहार निर्माणको काम छिट्टै सुरु हुने तयारीमा रहेको जानकारी दिए।

लुम्बिनी विकास कोषले समेत अनोमा क्षेत्रलाई ‘बुद्धिस्ट सर्किट’ (बुद्ध परिपथ) सँग जोड्ने योजना अघि सारेको छ। कोषका सदस्य सचिव दीपक श्रेष्ठले बुद्धसँग सम्बन्धित ओझेलमा रहेका यस्ता स्थलहरूको प्रवर्द्धनले समग्र पर्यटन विकासमा टेवा पुग्ने बताए।

सुस्ता पुग्ने पर्यटकहरूले अनोमा नदीको शान्त वातावरण, त्रिवेणी धाम तथा बुद्धसँग सम्बन्धित पुरातात्विक अवशेषहरूको अवलोकन गर्ने गरेका छन्। स्थानीय तह र सरोकारवाला निकायले सडक पहुँच तथा प्रचारप्रसारमा थप ध्यान दिने हो भने अनोमा घाट नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित