Rashtriya Dainik

सरावलमा मन्टेश्वरी तालिम सम्पन्न: ४२ सहजकर्तामा नयाँ सीप र ऊर्जा

राष्ट्रिय दैनिक / नवलपरासी ,५ बैशाख

सरावल गाउँपालिकाले प्रारम्भिक बाल विकास शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित सञ्चालन गरेको १० दिने मन्टेश्वरी तालिम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ।

बालबालिकाको सिकाइलाई प्रभावकारी, व्यवहारिक र परिणाममुखी बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा पालिकाभित्रका सामुदायिक तथा धार्मिक विद्यालयका ४२ जना बाल विकास सहजकर्ताहरूले सक्रिय सहभागिता जनाएका थिए।


तालिम अवधिभर सहभागीहरूलाई बालमैत्री शिक्षण विधि, व्यवहारिक सिकाइ प्रक्रिया, बाल मनोविज्ञानअनुसार कक्षाकोठा व्यवस्थापन तथा मन्टेश्वरी शिक्षण प्रणालीका आधारभूत सिद्धान्तहरूबारे गहिरो प्रशिक्षण दिइयो। शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासीका शाखा अधिकृत सुवासचन्द्र गौतमसहित सुमित्रा अर्याल र सुधा खनाललगायत प्रशिक्षकहरूले प्रशिक्षण सञ्चालन गरेका थिए।

गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले प्रारम्भिक बाल शिक्षा नै उज्ज्वल भविष्यको आधार भएको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादनमा यस्ता तालिम अपरिहार्य रहेको बताए। उनले आगामी दिनमा पनि शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उपाध्यक्ष बासमति हरिजनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दा विद्यालयस्तरमा गुणस्तरीय शिक्षा प्रवाहमा ठोस परिवर्तन आउने विश्वास व्यक्त गरिन्।

शिक्षा शाखा प्रमुख प्रमोद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, शिक्षा शाखाका प्रेम थापालगायतले पनि तालिमको महत्वबारे जोड दिएका थिए।

तालिमले सरावल गाउँपालिकामा बाल विकास शिक्षाको स्तर उकास्न नयाँ दिशा दिने अपेक्षा गरिएको छ। अब प्रशिक्षित सहजकर्ताहरूले कक्षाकोठामै परिवर्तन देखाउने चुनौती र अवसर दुवै पाएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित