Rashtriya Dainik

पाल्हीनन्दन-१ मा ‘योग तथा सकारात्मक स्वस्थ जीवनशैली’ कार्यक्रमप्रति असन्तुष्टि

राष्ट्रिय दैनिक / नवलपरासी ,४ बैशाख

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ मा सञ्चालन गरिएको “योग तथा सकारात्मक स्वस्थ जीवनशैली”कार्यक्रमप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। वडामा कार्यक्रम आयोजना हुँदासमेत सर्वसाधारणलाई जानकारी नदिइएको गुनासो उठेको छ।

स्थानीयका अनुसार वडाभित्र रहेका ९ वटा टोल हुँदाहुँदै पनि सीमित रूपमा एउटै टोलका व्यक्तिहरूलाई मात्र कार्यक्रममा सहभागी गराइएको छ। ३० जना सहभागी आवश्यक पर्ने अवस्थामा सबै टोलबाट प्रतिनिधित्व गराउन सकिने भए पनि त्यसो नगरी पक्षपात गरिएको उनीहरूको आरोप छ।

स्वास्थ्य जस्तो साझा विषयमा सबैको पहुँच हुनुपर्छ,एक स्थानीयले भने, तर कार्यक्रम सीमित समूहमा मात्र सीमित गरिँदा यसको उद्देश्य नै कमजोर हुन्छ।

त्यसैगरी,वडाका जनप्रतिनिधिहरूले सबै साविक टोलहरूमा जानकारी प्रवाह गर्नुपर्ने दायित्व भए पनि त्यसो नगरेको आरोप लगाइएको छ। एउटै घरका २-३ जना व्यक्तिहरूलाई पटकपटक कार्यक्रममा सहभागी गराउने गरिएको र हरेक कार्यक्रममा उही व्यक्तिहरू दोहोरिने गरेको स्थानीयले बताएका छन्।

वडामा कार्यरत कार्यालय सहयोगीसमेत कार्यक्रममा सहभागी भएको देखिएको भन्दै निष्पक्षतामाथि प्रश्न उठाइएको छ। अन्ततः यस्तो भेदभाव किन भइरहेको हो? भन्ने प्रश्न स्थानीयले उठाएका छन्।

स्थानीयहरूले आगामी दिनमा यस्ता कार्यक्रमहरू पारदर्शी, समावेशी र सबै टोलको समान सहभागिता सुनिश्चित हुने गरी सञ्चालन गर्न माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित