Rashtriya Dainik

४ धुरको घरबाट संघीय संसदको उपसभामुखसम्म : रुबी ठाकुरको प्रेरणादायी यात्रा

राजन कुमार बानियाँ/ पर्सा, २८ चैत

धनुषाको जनकपुरधाम–१४ मुजेलीयामा रहेको एउटा सानो, साधारण घर यतिबेला देशकै चर्चाको केन्द्र बनेको छ। यही घरकी २५ वर्षीया रुबी कुमारी ठाकुर हालै संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएसँगै उनको संघर्षपूर्ण जीवनकथा सबैका लागि प्रेरणा बनेको छ।

सहरको कोलाहलभन्दा टाढा रहेको मुजेलीयाको उक्त घर बाहिरबाट हेर्दा सामान्य देखिए पनि त्यही घरले देशको दोस्रो उच्च संसदीय पदसम्म पुग्ने सपना साकार भएको कथा बोकेको छ। रुबीको परिवार अझै पनि अत्यन्त साधारण जीवनयापन गर्दै आएको छ।
रुबीका बुबा सोगारथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए। छोरी सांसद बनेको खबर उनले उतै सुनेका थिए। हालै बिदामा घर फर्किएका उनले छोरीको सफलताप्रति गर्व व्यक्त गर्दै जनकपुरको नाम उचो बनाएकोमा खुसी व्यक्त गरेका छन्।

उनको सफलतामा सबैभन्दा ठूलो भूमिका आमा रेणु ठाकुरको रहेको छ। ४ छोरी र २ छोराकी आमा रेणु दिनभर अधियाँमा खेत जोत्दै परिवार धानेकी छन्। छोरीलाई पढाउन अनेक चुनौती भए पनि उनले कहिल्यै पछि हटिनन्। आज छोरी उपसभामुख बनेको खबर उनलाई अझै पनि सपना जस्तै लाग्छ।
रुबीका भाइ शनि कुमार ठाकुरले भर्खरै एसईई दिएका छन्। दिदीको सफलताबाट उनी पनि पढेर ठूलो मान्छे बन्ने सपना देख्न थालेका छन्।

सामान्य परिवार र अभावका बीचबाट देशको नीति निर्माण तहमा पुग्नु रुबीका लागि मात्र नभई सिंगो समाजका लागि प्रेरणाको विषय बनेको छ। जनकपुरबासीहरूले ‘मधेशकी छोरी’ को सफलता सामाजिक सञ्जालमा उत्सवका रूपमा मनाइरहेका छन्।

मुजेलीयाको ४ धुर जमिनमा बनेको सानो घरले आज एउटा ठूलो सन्देश दिएको छ—सपना देख्न र पूरा गर्न महल होइन, दृढ इच्छा र मेहनत चाहिन्छ।
धनुषाबासीको अपेक्षा छ कि युवा उपसभामुख रुबी ठाकुरले आफ्नो कार्यकाल सफल बनाउँदै देशभरका युवाहरूका लागि प्रेरणाको स्रोत बन्न सकून्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित