राष्ट्रिय दैनिक / नवलपरासी,२० चैत
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित गंगापुरमा रहेको इन्द्रा सुगर एण्ड एग्रो इन्डस्ट्रिज प्रालि अहिले पूर्ण रूपमा सुनसान बनेको छ। उद्योगको मुख्य गेटमा ताल्चा लागेको छ, तर बाहिर किसान र कर्मचारीहरू आफ्नो पसिनाको मूल्य पाउन प्रतिक्षारत देखिन्छन्।
उद्योगका सञ्चालक राकेश अग्रवाल गत वर्षदेखि नै सम्पर्कविहीन छन्। स्थानीयका अनुसार उनी हाल लखनउ मा बसोबास गरिरहेका छन्। यता भने किसान र कर्मचारीहरू आर्थिक संकटमा परेका छन्।
उखु उत्पादक महासंघका केन्द्रीय प्रवक्ता तथा लुम्बिनी प्रदेश संयोजक, साथै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव ले सञ्चालकलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। “हामीले धेरै प्रयास गर्यौँ, तर सम्पर्कमा ल्याउन सकेनौँ। किसानमाथि ठूलो अन्याय भएको छ,” उनले भने।
उद्योगले किसानको करिब ६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने कर्मचारीहरूको १ करोडभन्दा बढी तलब रोकिएको छ। साथै विभिन्न बैंकहरूको करिब ४० करोड रुपैयाँ ऋण जोखिममा परेको छ। उद्योगको सम्पत्तिभन्दा ऋण बढी भएपछि बैंकहरूले परिसरमा सुरक्षा गार्डसमेत खटाएका छन्।
स्थानीय किसानहरू यसलाई “योजनाबद्ध ठगी” भन्दै आक्रोशित छन्। उद्योगले उखु किने पनि समयमै भुक्तानी नगर्दा किसानहरू सरकारले दिने अनुदानबाट समेत वञ्चित भएका छन्। गत वर्ष २१८ किसानको विवरण नपठाउँदा ४२ लाख ३३ हजार रुपैयाँ अनुदान रोकिएको बताइएको छ।
इन्द्रा सुगर बन्द भएपछि किसानहरू बाध्य भएर सुस्तास्थित बागमती चिनी उद्योग मा उखु लैजान थालेका छन्। कतिपय किसान भने कम मूल्यमा क्रसर (भेली) उद्योगमा बेच्न विवश छन्।

यतिबेला किसानको आशा सरकारको १०० दिने कार्यक्रममा टिकेको छ। २५ दिनभित्र भुक्तानी नगरे उद्योगीलाई ब्याज तिर्नुपर्ने व्यवस्था ल्याउने चर्चाले केही आश जगाएको छ।
इन्द्रा सुगर प्रकरणले नेपालका उखु किसानहरू पटक–पटक कसरी ठगिन्छन् भन्ने गम्भीर उदाहरण बनेको छ। समयमै समाधान ननिकाले यस क्षेत्रबाट उखु खेती नै विस्थापित हुने खतरा बढेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

