राजकुमार यादव / रौतहट, १८ चैत
मौलापुर नगरपालिका-९ सोनरनिया मा ४ करोड ३९ लाख रुपैयाँ लागतमा एकीकृत दलित बस्ती निर्माण कार्यको शिलान्यास गरिएको छ। वर्षौँदेखि अलपत्र अवस्थामा रहेको करिब तीन बिघा एलानी जग्गामा नगरप्रमुख रिना कुमारी साह ले शिलान्यास गरेकी हुन्।
कार्यक्रममा उप-नगरप्रमुख नागेन्द्र राय यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, वडा नं. ९ का अध्यक्ष श्याम साह सहित विभिन्न जनप्रतिनिधि र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस परियोजनाका लागि कुल बजेट ४ करोड ३९ लाख ७४ हजार १७७ रुपैयाँ निर्धारण गरिएको छ। जसमध्ये ३० प्रतिशत अर्थात् १ करोड ३१ लाख ९२ हजार २५३ रुपैयाँ मौलापुर नगरपालिका ले व्यहोर्नेछ भने बाँकी ७० प्रतिशत अर्थात् ३ करोड ७ लाख ८१ हजार ९२४ रुपैयाँ नेपाल सरकार बाट अनुदान स्वरूप प्राप्त हुनेछ।
परियोजना अन्तर्गत ३० दलित परिवारलाई शौचालय र खानेपानीसहित दुई कोठे पक्की आवास उपलब्ध गराइनेछ। साथै बस्तीभित्र सडक र नाला निर्माण गर्ने योजना समेत रहेको छ।

निर्माण कार्य ‘प्रिसा–शृष्टि तथा श्री राम जेभी’मार्फत सञ्चालन गरिनेछ। सम्झौता अनुसार २०८२ माघ ९ गतेदेखि सुरु भएको निर्माण २०८५ असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
दीर्घकालदेखि व्यवस्थित आवासको अभाव झेल्दै आएका दलित समुदायका लागि यो परियोजना महत्वपूर्ण कदम मानिएको छ। यसले आधारभूत पूर्वाधारसहित सुरक्षित र सम्मानजनक बसोबास सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

