राष्ट्रिय दैनिक /नवलपरासी, चैत १६ गते
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा बिक्रम खनाल सुस्तामा पुगेर स्थानीय बासिन्दाले भोग्दै आएका विविध समस्याहरूको स्थलगत अध्ययन गर्नुभएको छ।

सुस्ता, सोही निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिकाको बासिन्दाले प्रमुख रूपमा नारायणी नदीको कटान र बार्षिक डुबानको स्थायी समाधान, वर्षौँदेखि समाधान खोज्दै आएका लालपुर्जा तथा नागरिकता सम्बन्धी कानुनी जटिलता, साथै शिक्षा, स्वास्थ्य र यातायातका आधारभूत समस्या सांसदको ध्यानाकर्षण गराएका छन्।

सांसद खनालले ती समस्याको समाधानका लागि सदन र सरकार दुवै तहमा बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सुस्ताको भूमि र नागरिकको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै भन्नुभयो, “म यहाँका समस्या बुझ्न आएको हुँ, अब यी समस्याको समाधानका लागि कुनै कसर बाँकी राख्ने छैन।”
त्यसैगरी, उहाँले तटबन्ध निर्माण कार्यको अनुगमन गर्दै नदीजन्य पदार्थको अभाव र प्राविधिक अड्चनहरू समाधान गर्न सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय र वडा अध्यक्ष प्रभुनाथ यादवसँग समन्वय बढाउन आग्रह गर्नुभयो। साथै, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामार्फत निर्माण जिम्मेवारी पाएका केडि कन्ट्रक्सन र कन्ट्याक्ट नेपाललाई ढिलासुस्ती नगरी गुणस्तरीय काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो।

सांसद खनालको भ्रमणले स्थानीय बासिन्दामा आशा जगाएको छ कि अब सुस्ताका वर्षौंदेखि रहेका समस्याहरूको समाधानमा दृढ पहल हुनेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

