आरपी उपाध्याय / त्रिवेणी, १४ चैत
श्री ज्योति बौद्ध बिहार गुम्बा समितिको आठौं वार्षिक साधारणसभा विनयी त्रिवेणी गाउँपालिका–७ स्थित शिवपुरगढीको गुम्बा हलमा शनिबार सम्पन्न भएको छ।

कार्यक्रम गुम्बा समितिका अध्यक्ष तथा प्रमुख लामा सिंह बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने विनयी त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष भगवती वैदवार क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो।
साधारणसभामा बोल्दै प्रमुख अतिथि वैदवारले हिंसामुक्त समाज निर्माणका लागि भगवान बुद्धका शिक्षाहरू वर्तमान समयमा अत्यन्त सान्दर्भिक रहेको बताउनुभयो। उहाँले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने र नैतिक शिक्षालाई घरपरिवारमै लागू गर्न सके सकारात्मक परिणाम आउने धारणा व्यक्त गर्नुभयो।

यसैगरी, गुम्बा समितिकी उपाध्यक्ष रुपा थापा मगरले नैतिक शिक्षाको ह्रासका कारण समाज अनुशासनहीन बन्दै गएको उल्लेख गर्दै बालबालिकामा बुद्धका उपदेशसहित नैतिक शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष मन बहादुर खरुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साधारणसभामा सल्लाहकारहरू आरपी उपाध्याय, खेम बहादुर राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
उक्त अवसरमा विनयी त्रिवेणी वडा नं. ६ र ७ का आधा दर्जन आमा समूहलाई शान्ति पदयात्रामा सहभागिता जनाएको मूल्यांकन गर्दै कदरपत्रसहित सम्मान गरिएको समितिका सदस्य बिमल थापाले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

