Rashtriya Dainik

तीन सवारी ठोक्किँदा नवलपरासीमा ठूलो क्षति: ३ को ज्यान गयो

बिनोद निगम / नवलपरासी, १४ चैत

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–४ घिउखोलामा गएराति भएको भीषण सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी व्यक्ति घाइते भएका छन्।

राति करिब १२:४० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु २ ख २३५१ नम्बरको यात्रुबाहक बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करपछि पिकअप सडक छेउमै पल्टिएको, बस करिब २०० मिटर र ट्रक करिब १०० मिटर सडकबाट तल खसेको थियो।

दुर्घटनामा घाइते भएका १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ। घाइतेमध्ये रोल्पा परिवर्तन–४ का २४ वर्षीय मरिचमान घर्तीमगर, बस चालक हिमाल घर्तीमगर, कञ्चनपुरका लोकराज ओझा तथा ट्रक चालक सागर चौधरीको अवस्था मध्यम रहेको छ। एक अन्दाजी २५ वर्षीया अज्ञात महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी बर्दघाटस्थित चिसापानी अस्पतालमा २ जना सामान्य घाइतेको उपचार भइरहेको छ।
उपचारका क्रममा जिल्ला अस्पताल परासीमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये रोल्पा बागमारा निवासी २५ वर्षीय गोबिन बुढा रहेका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय बर्दघाट, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त ८५ सदस्यीय उद्धार टोली घटनास्थलमा खटिएको थियो। उद्धारकै क्रममा प्रहरी सहायक निरीक्षक कमल प्रसाद आचार्य घाइते भएका छन्, उनको अवस्था मध्यम रहेको जनाइएको छ।

हाल राजमार्गमा सवारी आवागमन सामान्य रहेको छ। दुर्घटनामा संलग्न सवारी साधनहरू घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित