Rashtriya Dainik

बाल्मिकी आश्रममा रामनवमीको रौनक: नेपाल–भारतबाट भक्तजनको ओइरो

आर.पी. उपाध्याय / त्रिवेणी, १४ चैत

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव रामनवमीको अवसर पारेर बाल्मिकी आश्रममा भव्य मेला तथा वार्षिक पूजन कार्यक्रम सम्पन्न भएको छ।

विश्व सनातन धर्म स्थापनार्थ मूल समिति र विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिर जिल्ला समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति रहेको थियो।

आश्रमस्थित सीता माता धर्ती प्रवेश मन्दिरमा दर्शनका लागि लामो लाइन लागेको थियो। तीर्थालुहरूले पूजा अर्चना गर्नुका साथै मन्दिर वरपर रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरूको अवलोकन गरेका थिए।

सुर्खेत निवासी ‘प्रभु’ नामले परिचित गङ्गा प्रसाद सुवेदीको महाकामना अनुसार उक्त स्थलमा आकर्षक मन्दिर निर्माण गरी नियमित पूजाआजा हुँदै आएको मूल समितिका अध्यक्ष दीपकजंग रायमाझीले जानकारी दिए।

मेलाको अवलोकनका लागि पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, प्रहरी उपरीक्षक युवराज खडका, विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, पूर्व रक्षा सचिव आत्माराम पाण्डे तथा इन्डो नेपाल पत्रकार संघका अध्यक्ष कौशल कुमार लगायतको उपस्थिति रहेको थियो।
उनीहरूले आश्रम क्षेत्रका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरू—त्रेता युगसँग सम्बन्धित श्रीरामको मूर्ति, बाल्मिकी ऋषिको तपोभूमि, लव–कुशको पाठशाला, घोडा बाँधिएको किला, तथा सीता माताले पानी भर्ने कुवा—को अवलोकन गरेका थिए।


कार्यक्रममा बोल्दै अध्यक्ष रायमाझीले बाल्मिकी आश्रमको समग्र विकासमा राज्यको ध्यान पुग्न नसकेको गुनासो गरे। विशेषगरी त्रिवेणीदेखि आश्रमसम्म पुग्न निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगमा कठिनाइ रहेको उल्लेख गर्दै सुधार आवश्यक रहेको बताए।
साथै, आश्रम चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले भौतिक पूर्वाधार निर्माणमा कानुनी जटिलता रहेको जनाउँदै त्यसको समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित