आरपि उपाध्याय /नवलपरासी ,९ चैत
पश्चिम नवलपरासीमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्रतापपुर गाउँपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, बाल सञ्जालका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको थियो।

शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत सुभास गौतमले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहजीकरण गर्नुभएको थियो। उहाँले विद्यालयको पहुँचभन्दा टाढा रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने र औपचारिक शिक्षा लिन नसकेका बालबालिकालाई अनौपचारिक शिक्षामार्फत समेट्ने विषयमा जानकारी गराउनुभयो।
अभिमुखिकरणमा छलफल, गोष्ठी, भेला तथा अन्तरक्रियामार्फत पनि विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षामा जोड्न सकिने उपायबारे सहभागीलाई जानकारी गराइएको थियो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेन्द्र सुवेदीले संविधान, ऐन, नियम तथा कानुनको परिधिभित्र रहेर राष्ट्रिय शिक्षा नीतिलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले राज्यले दिएको अधिकारको सदुपयोग गर्दै थप अधिकारका लागि कानुनी प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
यसैगरी, प्रतापपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण ढुंगानाले २०७८ देखि २०८२ सालसम्म आवश्यक गृहकार्य नहुँदा विद्यालयमा दरबन्दी समस्या बढेको उल्लेख गर्नुभयो। उहाँले दरबन्दी अभाव हुँदाहुँदै पनि विद्यालय स्तरोन्नतिको होडले समस्या थपिएको बताउँदै शिक्षा सुधारका लागि सबैको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक केशव अधिकारी, त्रिभुवन मावि बेलाटारीका प्रधानाध्यापक नाराद ठाकुर, बाबुराम सुवेदी, मनोज सिंह थापा, पञ्चम कुमार विश्वकर्मा तथा बाल सञ्जालकी पूजा कुमारी यादव लगायतले विद्यालयका समस्या र समाधानका उपायबारे महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

