आरपि उपाध्याय / नवलपरासी ,८ चैत
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउन एक दिवसीय सहजीकरण अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ।
शिक्षा विकास तथा समन्वय इकाई पश्चिमी नवलपरासीको आयोजनामा तथा सुस्ता गाउँपालिकाको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा पालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, विद्यालय प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षा विकास समन्वय इकाईका शाखा अधिकृत सुवासचन्द्र गौतमले तालिमको उद्देश्यबारे प्रष्ट पार्दै सहजीकरण गर्नुभएको थियो। सो अवसरमा सहभागीहरुले दरबन्दी अभावका कारण अध्यापनमा देखिएको जटिलता तथा नि:शुल्क शिक्षाको व्यवस्था हुँदाहुँदै केही विद्यालयमा विभिन्न शीर्षकमा रकम असुली भइरहेको विषयमा चिन्ता व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले शिक्षा नै अज्ञानता हटाउने सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउन सके सकारात्मक परिणाम छिट्टै प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
यस्तै, उपाध्यक्ष गितादेवी चौधरीले संघ, प्रदेश र स्थानीय सरकारले नि:शुल्क शिक्षालाई प्राथमिकता दिएको भए पनि आवश्यक दरबन्दी व्यवस्थापन हुन नसकेको बताउँदै दक्ष जनशक्ति र गुणस्तरीय शिक्षाबाट मात्र उत्पादनशील जनशक्ति तयार गर्न सकिने धारणा राख्नुभयो।

कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख महेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। उहाँले सीमित स्रोतसाधनका बाबजुद उच्च मनोबलका साथ शिक्षण कार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो। साथै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन यथार्थपरक तथ्यांकको प्रयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
सुस्ता गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर ठाडा मगरका अनुसार कार्यक्रममा कुल ६० जनाको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

