राष्ट्रिय दैनिक /नवलपरासी ,६ चैत
वन व्यवस्थापनलाई रोजगारीसँग जोड्दै नवलपरासीमा उल्लेख्य उपलब्धि हासिल भएको छ।
डिभिजन वन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामै वन क्षेत्रका विभिन्न कार्यक्रममार्फत करिब एक लाख श्रम दिन बराबरको रोजगारी सिर्जना भएको हो।

अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत विवरणअनुसार वैज्ञानिक वन व्यवस्थापन, सरसफाइ, रुख कटान, मुछान तथा काठ सङ्कलनजस्ता गतिविधिले स्थानीय बासिन्दालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ।
डिभिजन वन अधिकृत राजु क्षेत्रीले सिर्जित श्रम दिन करिब २७३ जनालाई वर्षभर रोजगारी उपलब्ध गराएसरह रहेको जानकारी दिए।

वन क्षेत्रभित्र नियमित कामसँगै काठ भण्डारण तथा व्यवस्थापनमा समेत जनशक्ति परिचालन भइरहेको छ। तर पछिल्लो समय काठको माग घट्दै जाँदा उत्पादन भएको काठ बिक्री हुन नसक्ने समस्या देखिएको छ।
हाल जिल्लामा करिब १३ हजार घन फिट काठ मौज्दात रहेको छ, जसबाट करिब १ करोड ३० लाख रुपैयाँ राजस्व संकलन हुन सक्ने अनुमान गरिएको छ।

वनजन्य उत्पादनको प्रभावकारी उपयोग गर्न सके आयात प्रतिस्थापन हुँदै व्यापार घाटा कम गर्न सहयोग पुग्ने कार्यालयको भनाइ छ। साथै, वनभित्र रहेका पातपतिङ्गर र सुक्खा सोत्तर व्यवस्थापनबाट थप रोजगारी सिर्जना गर्न सकिने सम्भावना औँल्याइएको छ।
जिल्लामा करिब ६ लाख क्विन्टल यस्ता सामग्री रहेको अनुमान गरिएको छ।
यदि स्थानीय तहहरूले प्रतिक्विन्टल १०० रुपैयाँमा खरिद गर्ने नीति ल्याए एक व्यक्तिले दैनिक ५०० रुपैयाँसम्म आम्दानी गर्न सक्ने जनाइएको छ।

सङ्कलित सामग्रीलाई कम्पोस्ट मलमा रूपान्तरण गरी प्रयोग गर्न सके रासायनिक मलको आयात घट्नुका साथै माटोको गुणस्तर सुधार हुने विश्वास गरिएको छ।

वन अधिकृत रवीन्द्र चौधरीले काठको सहज आपूर्ति र प्रयोगलाई प्रोत्साहन गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। उनका अनुसार नक्सा पास अनिवार्य बनाउँदा सर्वसाधारणले काठ पाउन कठिनाइ भएको गुनासो बढेको छ।

हाल ४० फिटसम्म काठ लिन नक्सा अनिवार्य नगर्ने व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ।
कार्यक्रमका सहभागीहरूले वनजन्य स्रोतको उपयोग र प्रवर्द्धनमा सकारात्मक तथा खोजमूलक पत्रकारिताको आवश्यकता औँल्याएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

