Rashtriya Dainik

“सुरक्षित उपभोक्ता, आत्मविश्वासी उपभोक्ता” नारासहित बझाङमा विश्व उपभोक्ता अधिकार दिवस सम्पन्न

बझाङ ,२ चैत , “सुरक्षित उपभोक्ता, आत्मविश्वासी उपभोक्ता” भन्ने नाराका साथ बझाङमा विश्व उपभोक्ता अधिकार दिवस विभिन्न सचेतनामूलक कार्यक्रमसहित सम्पन्न भएको छ।
घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजनामा आइतबार सम्पन्न कार्यक्रम कार्यालयका निमित्त कार्यालय प्रमुख मान बहादुर धामीको अध्यक्षतामा भएको हो। कार्यक्रममा उपभोक्ता अधिकारको संरक्षण, बजारमा उपलब्ध वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सचेतना तथा बजार अनुगमनको प्रभावकारिताबारे विस्तृत छलफल गरिएको थियो

कार्यक्रममा वक्ताहरूले उपभोक्ताले आफूले खरिद गर्ने वस्तु तथा सेवाको गुणस्तर, मूल्य, म्याद तथा प्रयोगसम्बन्धी जानकारी अनिवार्य रूपमा बुझ्नुपर्नेमा जोड दिएका थिए। साथै उपभोक्ता अधिकारसम्बन्धी विद्यमान कानुन तथा व्यवस्थाबारे आम नागरिकलाई जानकारी गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

वक्ताहरूले बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तुको बिक्री–वितरण जस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायले नियमित बजार अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उपभोक्ताको हकहित संरक्षणका लागि सरकारी निकाय, व्यवसायी तथा उपभोक्ता स्वयं सबै पक्ष जिम्मेवार हुनुपर्नेमा समेत जोड दिइएको थियो।
कार्यक्रमका अध्यक्ष तथा घरेलु तथा साना उद्योग कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख मान बहादुर धामीले उपभोक्ताको अधिकार संरक्षण गर्नु राज्यको मात्र नभई सबै सरोकारवाला निकायको साझा जिम्मेवारी भएको बताए। उनले उपभोक्तालाई सुरक्षित, गुणस्तरीय र विश्वासयोग्य वस्तु तथा सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न कार्यालय सधैं प्रतिबद्ध रहेको उल्लेख गरे।
सो अवसरमा उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्था, उपभोक्ताले पाउने अधिकार, व्यवसायीको जिम्मेवारी तथा बजार व्यवस्थापनका विषयमा समेत जानकारी गराइएको थियो। कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


हरेक वर्ष मार्च १५ मा मनाइने विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा विश्वभर उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित बजार व्यवस्था तथा उपभोक्ता सचेतनालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित