काठमाडौं ,१५ फागुन
धादिङ निर्वाचन क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार आशिका तामाङले भाषण गरेको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।
बिहीबार आफ्नो निर्वाचन क्षेत्रकै गल्छीचोकमा पार्टीका सभापति रवि लामिछानेसमेतको उपस्थितिमा आयोजित चुनावी सभामा आशिका बोलिरहेकी छन्, ‘धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएकी हुँ!’
भेलामा सहभागीहरू छक्क पर्छन्। अनि सँगै रहेका रविले हताहतार सच्याउँदै भन्छन्, ‘भनेर अन्य नेताले भन्छन् तर आशिकाले भन्दिनन्।’
तर पनि आशिकाको मुखबाट फुत्केको ‘भ्रष्टाचार गर्न आएकी हुँ’ भन्ने कुरामा सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भइरहेको छ।
यसैबिच आशिकाले बोल्ने क्रममा गल्ती भएको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेकी छन्।
‘रवि दाइको स्वागतलाई म कालीरह भन्ने ठाउँमा पुगी सम्पूर्ण कार्यकर्तासहित हामी गल्छीचोकमा रवि दाइ टिमसहित आइपुग्यौँ। त्यहाँ सम्पूर्ण धादिङबासी रवि दाइको स्वागतलाई तैनाथ हुनुहुन्थ्यो, भिड ठुलो थियो। साँझ परेर झपक्क रात परिसकेको थियो। दाइसँग धेरै समय थिएन, त्यसैले मैले छिटोछिटो आफ्नो सानो मन्तव्य लेखेर लगेको थिएँ, उनले सामाजिक सञ्जालमा लेखेकी छन् बोल्दाखेरि ‘धादिङमा सुशासन स्थापना गरी, भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ’ भन्ने वाक्य भन्नुपर्ने थियो तर अन्त्य शब्दचाहिँ मेरो आँखाले ठम्याउन सकेन र भ्रष्टाचार गर्दछु भन्ने शब्द सुनिन गएको हुँदा सम्पूर्णमा माफी माग्दछु। एकपल्टको लागि गल्ती भो। अबदेखि बोल्दा धेरै ध्यान गरेर मात्र बोल्नेछु र यस्तो गल्ती भविष्यमा नगर्ने वाचा गर्दछु।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

