Rashtriya Dainik

‘परिवर्तनको नेतृत्व अब कांग्रेसले गर्छ’ – विश्वप्रकाश शर्मा

राष्ट्रिय दैनिक / नवलपरासी, १४ फागुन

विश्वप्रकाश शर्माले देशमा वास्तविक परिवर्तन ल्याउन नेपाली कांग्रेस नयाँ जोस र नेतृत्वसहित जनतामाझ आएको दाबी गरेका छन्। नवलपरासीको परासीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसले विगतका कमजोरी सच्याएर देश विकास र जनअपेक्षा अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले “पुरानो चाहिने हो भने सबैभन्दा पुरानो दल कांग्रेस, नयाँ चाहिने हो भने परिवर्तन भएर आएको सबैभन्दा नयाँ शक्ति पनि कांग्रेस नै” भन्दै जेनजीको भावना र असल मुद्दालाई आत्मसात् गर्दै अघि बढिरहेको बताए। देशका समस्या पहिचान गरी समाधानका लागि कांग्रेस सच्चिएर आएको उनको जिकिर थियो।

महेन्द्र सेन ठकुरीको कांग्रेस प्रवेश, रास्वपामाथि आर्थिक चलखेलको आरोप
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति महेन्द्र सेन ठकुरीले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। सभामा सम्बोधन गर्दै उनले रास्वपाले टिकट वितरणमा कार्यकर्ताको मनसायविपरीत आर्थिक चलखेल गरेको आरोप लगाए। सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डा बोकेको पार्टीमै उम्मेदवार छनोटमा अनियमितता देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे।

संविधान र विकासको पक्षमा मतदान गर्न अपिल
कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले यसपटकको निर्वाचन संविधान जोगाउने पक्षमा मतदान गर्न आग्रह गरे। केन्द्रीय सदस्य राधेश्याम पाठकले देशलाई निकास दिन सक्षम सरकार आवश्यक रहेको बताए। पूर्व केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कण्डेलले जिल्लाको समग्र विकासका लागि आन्तरिक मनमुटाव त्यागेर दुबै उम्मेदवारलाई जिताउन अपिल गरे।


प्रत्यक्षतर्फका उम्मेदवार भिमबहादुर थापा क्षेत्री (भरत थापा) र समानुपातिक उम्मेदवार सुनिता श्रेष्ठलगायत नेताहरूले पनि सम्बोधन गरेका थिए। नवलपरासी क्षेत्र नं. १ मा विनोद चौधरी र क्षेत्र नं. २ मा भिमबहादुर थापा क्षेत्री कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्।


परासी र बर्दघाटको चौपत्तामा सम्पन्न आमसभामा दुबै स्थानमा उपसभापति शर्माले सम्बोधन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित