धनगढी,८ फागुन: डडेल्धुराको अमरगढी नगरपालिका– ६ का वडाबासीले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । उनीहरूले चुनाव बहिष्कार घोषणासभाको आयोजना गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।
अमरगढी नगरपालिकाले फोहोरमैला व्यवस्थापनको नाममा आफूहरूलाई झुक्याएको भन्दै उनीहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् । फोहोरविरुद्ध संघर्ष समितिका अनुसार नगरपालिकाले सुरुमा अमरगढी– ५ भजनपुरनजिक गुनेगाड क्षेत्रमा कागती खेती गर्ने योजना रहेको भन्दै स्थानीयवासीलाई जानकारी गराएको थियो । तर, अहिले आएर सोही क्षेत्रलाई फोहोर फाल्न थालिएको संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारले जानकारी दिए ।
‘नगरपालिकाले वास्तविक योजना लुकाएर जनतालाई भ्रममा पारेको छ,’ ताम्राकारले भने, ‘यो क्षेत्र फोहोर व्यवस्थापनका लागि उपयुक्त नभएको भन्दै हामीले बारम्बार विरोध र आवाज उठाएका थियौँ । तर, हाम्रो मागलाई बेवास्ता गरिएपछि चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेका हौँ ।’
भजनपुर नजिकै रहेको गुनेगाड क्षेत्र बस्ती नजिकै रहेको तथा त्यहाँ खानेपानीका मुहान, सिँचाइको स्रोत र विद्यालय जाने बाटो रहेका कारण फोहोर व्यवस्थापन केन्द्रका लागि उपयुक्त नभएको स्थानीयको भनाइ छ । स्थानीयले फोहोर व्यवस्थापनका लागि वैकल्पिक र उपयुक्त स्थान छनोट गर्न माग गरेका छन् । उनीहरूले आफ्नो माग सम्बोधन नभए आन्दोलन चर्काउने बताएका छन् ।
डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । उनी डडेल्धुराबाट सातपटक चुनाव जितेर पाँचपटक प्रधानमन्त्री भइसकेका छन् । यसपटक भने उनी चुनावी मैदानमा छैनन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

