राष्ट्रिय दैनिक /नवलपरासी, ७ फाल्गुन । पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्र कुमार गुप्ताले महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालनमा आए मात्रै हजारौं नागरिकको रोजगारी सिर्जना हुन सक्ने बताएका छन्। कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “महेशपुर भन्सार हाल आधा–अधुरा अवस्थामा छ। यसको स्तर उन्नति र पूर्ण सञ्चालनले क्षेत्रीय व्यापारलाई गति दिनुका साथै ढुवानी, भन्सार कर्मचारी, एजेन्ट, गोदाम व्यवस्थापन, सुरक्षा, ट्रान्सपोर्ट सेवा तथा स्थानीय पसल–उद्योगसँग सम्बन्धित थुप्रै रोजगारीका अवसरहरू खुल्नेछन्।” उनका अनुसार भन्सारको सक्रिय र व्यवस्थित सञ्चालनले नवलपरासीको आर्थिक गतिविधिलाई तीव्र बनाउनेछ। यसले आन्तरिक राजस्व वृद्धि गर्नुका साथै स्थानीय युवाहरूलाई आफ्नै क्षेत्रमा रोजगारीको अवसर प्रदान गर्ने वातावरण तयार पार्ने दाबी उनले गरे। गुप्ताले स्थानीय पूर्वाधार सुधार, व्यापार प्रवर्द्धन, रोजगार सृजना तथा सीमा नाकाको आधुनिकीकरणलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले महेशपुर नाकालाई व्यवस्थित र पूर्ण क्षमतामा सञ्चालन गर्न सके पश्चिम नवलपरासी आर्थिक दृष्टिले महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।