राष्ट्रिय दैनिक / नवलपरासी,७ फागुन
७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस,२०८२ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा विविध कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ।
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख तथा जिल्लास्तरीय मूल समारोह समितिका संयोजक भगौती यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सदरमुकाम परासीस्थित बुद्धचोकबाट राष्ट्रिय झण्डा र बाजागाजासहित सुरु भएको र्याली मालपोत रोड हुँदै पुनः बुद्धचोकमै पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा वक्ताहरूले प्रजातन्त्र स्थापनामा शहीदहरूको योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य, सुशासन र विकासप्रति प्रतिबद्ध रहन आग्रह गरेका थिए।

दिवसको अवसरमा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत फरक क्षमताका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरी मानवीय सेवामूलक कार्यक्रमसमेत सम्पन्न गरिएको आयोजकले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाइएको यस कार्यक्रमले जिल्लामा लोकतन्त्रप्रतिको सम्मान र सामुदायिक एकताको सन्देश दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

