नवलपरासीलाई ‘पर्यटन हब’ बनाउने एजेन्डा : कांग्रेसका उम्मेदवार भरत थापाको प्रतिबद्धता

राष्ट्रिय दैनिक / नवलपरासी, ६ फागुन

प्रतिनिधिसभा निर्वाचनको सरगर्मीबीच नवलपरासी–२ का नेपाली कांग्रेस उम्मेदवार भिम बहादुर थापा (भरत थापा) ले जिल्लालाई पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको छ।

सुनवल–भुमहीमा मतदातासँगको भेटघाटका क्रममा थापाले संसद् केवल कानुन र नीति निर्माणको थलो मात्र नभई देशको आर्थिक, सामाजिक तथा पर्यटकीय रूपान्तरणको महत्वपूर्ण प्लेटफर्म भएको उल्लेख गर्नुभयो। “नवलपरासीमा धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनको अपार सम्भावना छ,” उहाँले भन्नुभयो, “यी सम्भावनालाई योजनाबद्ध रूपमा विकास गर्न सके जिल्लाको आर्थिक स्तर उल्लेखनीय रूपमा उकास्न सकिन्छ।”
पूर्व सुनवल नगरपालिकाका मेयरसमेत रहनुभएका थापाले आफ्नो कार्यकालमा निर्माण गरिएको सुनवल हिलपार्कको उदाहरण दिँदै पर्यटन विकासबाट रोजगारी र स्थानीय उत्पादनमा सकारात्मक प्रभाव परेको दाबी गर्नुभयो। हिलपार्कमा मासिक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने र यसले स्थानीय अर्थतन्त्र चलायमान बनाएको उहाँको भनाइ छ।
थापाले नवलपरासीमा रहेका रामग्राम स्तूप, पण्डितपुर, महलपोखरी, तरगौली ताल, नन्दन ताल, पाल्ही भगवती मन्दिरलगायतका धार्मिक तथा ऐतिहासिक स्थललाई एकीकृत रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभयो। साथै छिमेकी क्षेत्रमा अवस्थित त्रिवेणी धाम जस्ता स्थलसँग पर्यटन सञ्जाल जोडेर जिल्लालाई अन्तर्राष्ट्रिय नक्सामा स्थापित गर्न सकिने उहाँको विश्वास छ।
उहाँले पर्यटन पूर्वाधार विकासमा विगतमा पर्याप्त पहल नभएको गुनासो गर्दै संसद् र मन्त्रालयस्तरमा दमदार रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “पर्यटन र औद्योगिक करिडोरलाई जोडेर रोजगारी सिर्जना गर्न सकिन्छ,” थापाले भन्नुभयो, “यसले युवालाई स्वदेशमै अवसर दिनेछ र वैदेशिक पलायन घटाउनेछ।”


निजी क्षेत्र र उद्योग–वाणिज्य संघमा काम गरेको अनुभव, पर्यावरणीय पर्यटनबारे बुझाइ तथा स्थानीय पूर्वाधार निर्माणको अनुभवलाई आधार बनाउँदै थापाले नवलपरासीलाई औद्योगिक, धार्मिक र वातावरणीय पर्यटनको समृद्ध केन्द्र बनाउने दाबी गर्नुभएको छ।
घरदैलो कार्यक्रमका क्रममा मतदाताको उत्साह बढ्दै गएको र विकास–केन्द्रित एजेन्डाले सकारात्मक सन्देश दिएको थापाको दाबी छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित