राजन कुमार बानिया /पर्सा, ६ फागुन
टेकबहादुर शाक्यले पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेपछि उनी निरन्तर घरदैलो तथा जनतादर्शन कार्यक्रममार्फत गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।
शाक्यले विभिन्न गाउँपालिका र वडाहरूमा पुगेर स्थानीयका समस्या सुन्नुका साथै आफ्ना प्रमुख एजेन्डा सार्वजनिक गरिरहेका छन्। विशेषगरी परिवर्तन, सुशासन र युवा रोजगारीलाई प्राथमिकतामा राख्दै उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
“पर्सा–४ का जनताले परिवर्तन चाहनुहुन्छ भन्ने अनुभूति घरदैलोमै भइरहेको छ,” शाक्यले भने, “घण्टी छापमा मतदान गरेर मलाई जिताउनुस्, म तपाईंहरूलाई निराश गर्दिनँ।”
विगत केही वर्षदेखि नै क्षेत्रीय जनसम्पर्कमा सक्रिय रहेका शाक्यलाई यसपटक फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएपछि अभियान थप प्रभावकारी बनेको छ। घरदैलोका क्रममा स्थानीयले युवा नेतृत्व, पारदर्शिता र रोजगारी सिर्जनालाई सकारात्मक रूपमा लिएको देखिएको छ।
उनले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरणसँगै युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। विभिन्न स्थानमा सामूहिक पार्टी प्रवेश कार्यक्रमहरू समेत आयोजना भइरहेका छन्, जसले चुनावी माहोल थप सक्रिय बनाएको छ।
पर्सा–४ मा मुख्य दलहरूबीच प्रतिस्पर्धा चर्किँदै जाँदा शाक्यको घरदैलो अभियानले क्षेत्रीय राजनीतिमा नयाँ ऊर्जा थपेको विश्लेषण गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

