पार्टी र प्रेस युनियनबाट पुष्पोत्तम सुवेदीको एकसाथ राजीनामा, नवलपरासी राजनीतिमा तरंग

राष्ट्रिय दैनिक /नवलपरासी,३ फागुन

नेपाल प्रेस युनियन नवलपरासीका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला कार्यालयका पूर्व सचिव पुष्पोत्तम सुवेदीले दुवै संस्थाबाट राजीनामा दिएका छन्। लामो समयदेखि पार्टी र शुभेच्छुक संस्थामा सक्रिय रहँदै आएका सुवेदीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै औपचारिक रूपमा अलग भएको घोषणा गरेका हुन्।

जारी विज्ञप्तिअनुसार उनले नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन्। साथै, नेपाल प्रेस युनियनको साधारण सदस्यबाट पनि अलग भई संस्थासँगको आफ्नो औपचारिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका छन्।

विज्ञप्तिमा सुवेदीले पछिल्लो समय पार्टी पंक्तिबाट संस्थागत रूपमा अपेक्षित अनुभूति हुन नसकेको जनाउँदै गहन सोचविचारपछि आजैको मितिबाट लागू हुने गरी राजीनामा दिने निर्णयमा पुगेको स्पष्ट पारेका छन्।

यसअघि उनले नवलपरासीमा नेपाल प्रेस युनियनको जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हाल्दै आएका थिए। त्यस्तै, नेपाली कांग्रेस नवलपरासीको कार्यालय सचिवको जिम्मेवारी निर्वाह गरेका सुवेदीले आफ्नो कार्यकालमा साथ, सहयोग र अवसर प्रदान गर्ने पार्टी नेतृत्व, सहकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

उनको राजीनामापछि जिल्लास्तरमा पार्टी र पत्रकारिता क्षेत्र दुवैमा राजनीतिक तथा संगठनात्मक तरंग उत्पन्न हुने आँकलन गरिएको छ।

Logo
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ।

jayabajarangi_itta_udhog