प्रकाश न्यौपाने / नवलपरासी ,फाल्गुन २ गते नेपाल रेडक्रस सोसाइटी नवलपरासी पश्चिमको आयोजना तथा राष्ट्रिय मा.वि. सुस्ता–१, छिवनीको आतिथ्यतामा “रेडक्रस युवा अभियान, नियमित रक्तदान” शीर्षकमा जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला जुनियर/युवा रेडक्रस समिति नवलपरासीका अध्यक्ष घनश्याम प्रसाद यादवको सभापतित्व तथा सुस्ता गाउँपालिका का अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले राष्ट्रिय मा.वि. छिवनीले रचनात्मक कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर हुने बताउनुभयो। सुस्ता गाउँपालिकाको नमुना विद्यालयका रूपमा राष्ट्रिय मा.वि. रहेको उल्लेख गर्दै उहाँले विद्यालयको प्रशंसा समेत गर्नुभयो। प्रतियोगितामा मा.वि.तर्फ १७ जना र आधारभूत तहतर्फ १९ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले नियमित रक्तदानको आवश्यकता, मानव जीवन बचाउन यसको भूमिका तथा युवाहरूको सामाजिक जिम्मेवारीबारे प्रभावकारी मन्तव्य प्रस्तुत गरेका थिए। नेत्रलाल न्यौपाने, हरि घिमिरे र शिवप्रसाद बस्याल निर्णायक मण्डलमा रहनुभएको उक्त कार्यक्रममा मा.वि.तर्फ विद्यासागर प्रसिद्ध मा.वि., हरकट्टाकी रिदिमा बस्याल प्रथम, ज्ञानज्योति एकेडेमी, भूमहीकी साधना न्यौपाने द्वितीय, राष्ट्रिय मा.वि., बेतहानीकी दिक्षा पाण्डे तृतीय तथा दिव्यज्योति मा.वि., चिसापानीका दिपेश पौडेल सान्त्वना हुनुभयो। त्यसैगरी आधारभूत तर्फ अन्नपूर्ण मा.वि., असनैयाकी आयुषा सापकोटा प्रथम, रामनगर एकेडेमी, भूमहीकी सुहानी न्यौपाने द्वितीय, राष्ट्रिय मा.वि., छिवनीकी सृष्टि डुम्रे तृतीय तथा बसन्तपुर जेनिथ बासाकी स्नेहा भट्टराई सान्त्वना हुन सफल हुनुभयो। विजेता विद्यार्थीहरूलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व विकाससँगै सामाजिक सेवाप्रति सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।