सुर्खेत ,२९ माघ ।
नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको उक्त कठोर निर्णयसँगै उनको कर्णाली प्रदेश सभा सदस्य पद पनि खारेज हुने प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।
पार्टीका कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार कार्वाहीसम्बन्धी पत्र बुधबार नै प्रदेश सभा सचिवालयमा पठाइएको हो। २०७९ सालको प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिमबाट निर्वाचित शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णाली प्रदेश इन्चार्जसमेत हुन्।
प्रमुख सचेतक जिसीले शर्माले पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत जानीजानी गतिविधि गरेको ठहर गर्दै पार्टी विधान तथा कर्णाली प्रदेश संसदीय दलको विधान २०८२ अनुसार केन्द्रीय समिति लगायत सबै जिम्मेवारीबाट हटाउँदै साधारण सदस्यबाट समेत निष्कासन गरिएको स्पष्ट पारे।
उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) अनुसार पार्टी सदस्यबाट निष्कासित व्यक्ति प्रदेश सभा सदस्य रहन नपाउने कानुनी व्यवस्था रहेकाले शर्मालाई प्रदेश सभा सदस्य पदबाट समेत मुक्त गर्न आवश्यक प्रक्रिया अघि बढाइएको हो।
कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले कार्वाहीसम्बन्धी पत्र दर्ता भइसकेको र कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
यस घटनाले कर्णाली प्रदेशको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ। सत्ता समीकरण, दलभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी रणनीतिमा यसको प्रभाव पर्ने विश्लेषण सुरु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

