राजन कुमार बानिया /पर्सा,२७ माघ
नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का उम्मेदवार रमेश रिजालले सोमबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। पूर्व मन्त्री तथा निर्वतमान सांसदसमेत रहेका उम्मेदवार रिजालले जिराभवानी गाउँपालिकाका वडा नम्बर २ र ३ मा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार रिजाललाई भव्य स्वागत गरेका थिए। स्थानीयहरूले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै नेपाली कांग्रेसप्रति विश्वास कायम रहेको बताएका छन्।
मतदातासँगको संवादमा उम्मेदवार रिजालले आफू सधैं युवा नेतृत्वको पक्षमा रहेको उल्लेख गर्दै यस क्षेत्रको विकासमा युवाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले विगतमा पनि युवाहरूलाई नेतृत्वमा अघि बढाएको स्मरण गर्दै आगामी दिनमा समेत युवासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
“युवाको सक्रिय सहभागिता बिना समृद्ध र विकसित समाजको कल्पना गर्न सकिँदैन,” उनले भने।
घरदैलो क्रममा स्थानीय समस्या, आवश्यकता र जनअपेक्षाबारे समेत छलफल गरिएको थियो। रिजालले शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने तथा जनताका आवाज संसदसम्म पुर्याउने विश्वास दिलाएका छन्।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरी, नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्णलाल श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, कांग्रेस समानुपातिक उम्मेदवार सुजाता देवी, प्रतिनिधि किशोर कलवार, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दीलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

