Rashtriya Dainik

नवलपरासीमा ५ दिनमा ३ हजार ७५१ किशोरीलाई एचपीभी खोप लगाइने 

प्रकाश न्यौपाने / नवलपरासी ,माघ २१ गते 

पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउने उद्देश्यले जिल्लामा ३ हजार ७ सय ५१ जना किशोरीलाई लक्षित गर्दै विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान २०८२ सञ्चालन गरिने भएको छ। माघ २५ गतेदेखि २९ गतेसम्म पाँच दिन चल्ने अभियान अन्तर्गत जिल्ला भर २०५ स्थानबाट खोप सेवा प्रदान गरिनेछ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अभियानमा १११ सामुदायिक र ९३ संस्थागत गरी २०४ विद्यालय तथा १ विद्यालय बाहिरको खोप केन्द्र समेटिएको छ। लक्षित किशोरीमध्ये कक्षा ६ मा अध्ययनरत ३५४३ जना र विद्यालय नजाने १० वर्ष उमेर समूहका २०८ जना गरी कुल संख्या ३७५१ पुगेको हो। अभियान ५ दिनमा जिल्लाका सातौ पालिकामा लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन देविलाल पौडेलले एचपीभी खोप वर्षमा एक पटक लगाइने र यसले पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदर उल्लेखनीय रूपमा घटाएको बताए। उनले २०७२/७३ सालदेखि नेपालमा एचपीभी खोप सुरु भई सुरुमा कास्की र चितवन जिल्लामा लागू गरिएको, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सिफारिसमा हाल देशव्यापी रूपमा विस्तार हुँदै आएको जानकारी दिनु भयो ।

खोप अभियानलाई प्रभावकारी बनाउन बर्दघाट नगरपालिकामा नियमित खोप कार्यक्रमअन्तर्गत विद्यालय केन्द्रित एचपीभी खोप अभियान २०८२ सम्बन्धी नगर स्तरीय खोप समन्वय समितिको बैठक, अन्तरक्रिया तथा सूक्ष्म योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार एचपीभी भाइरसका २०० भन्दा बढी प्रकारमध्ये १२ प्रकार क्यान्सरजन्य छन्। तीमध्ये प्रजाति १६ र १८ ले मात्र करिब ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर गराउने वैज्ञानिक प्रमाण रहेको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन । प्रत्येक वर्ष संक्रमित महिलामध्ये करिब ६० प्रतिशतको मृत्यु हुने र नेपालमा दैनिक औसत ४ जना महिलाको पाठेघरको क्यान्सरका कारण ज्यान जाने अवस्था रहेको पनि कार्यक्रममा उल्लेख गरियो।

स्वास्थ्य विज्ञहरूका अनुसार महिलामा देखिने क्यान्सरमध्ये पहिलो स्तन क्यान्सर र दोस्रो पाठेघरको मुखको क्यान्सर हो। यो रोग सुरुमा कुनै लक्षण नदेखिए पनि पछि यौन सम्पर्क गर्दा दुखाइ हुने, यौनीबाट असामान्य रगत बग्ने, सेतो पानी बग्ने तथा रक्तअल्पता देखिने समस्या देखापर्छ।

अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपीभी खोप लगाइने छ। साथै, सामान्य महिलाले ३–३ वर्षमा एक पटक र एचआईभी संक्रमित तथा जोखिम समूहका महिलाले १–१ वर्षमा पाठेघरको मुखको जाँच गराउनुपर्नेमा जोड दिइएको छ। महिनावारी सुरु हुनु अघि खोप लगाउँदा बढी प्रभावकारी हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबैको सहयोगमा किशोरीहरुलाई अनिवार्य रुपमा खोप लगाउन जोड दिनु पर्ने उल्लेख गर्नु भयो । उहाँले खोप राष्ट्रिय कार्यक्रम भएकोले नगरले हातेमालो गर्ने र खोप अभियान सफल बनाउने धारणा राख्नु भयो। 

कार्यक्रममा बोल्दै नगर स्वास्थ्य शाखामा कार्यरत रितमान श्रेष्ठले बर्दघाट नगरपालिकामा १६ वडा रहे पनि वडा नं. ३, ६ र ८ मा विद्यालय बाहिरका किशोरी नभएको र अन्य वडामा रहेका किशोरीलाई खोपको पहुँचमा ल्याइने बताउनु भयो । बर्दघाट नगरपालिकामा मात्रै १८ सामुदायिक र १८ संस्थागत गरी ३६ विद्यालय, साथै विद्यालय बाहिरका किशोरीलाई समेट्दै ३९ वटा खोप केन्द्र तोकिएका छन्। नगरभित्र विद्यालयभित्र ६६१ जना र विद्यालय नजाने किशोरी २५ जना लाई खोप लगाइने श्रेष्ठले जानकारी दिनु भयो । बर्दघाट २ मा रहेको संसारकोट क्षेत्रमा ५ जना किशोरी खोपबाट नछुटुन् भनेर छुट्टै खोप केन्द्र समेत स्थापना गरिएको छ।

स्वागत मन्तव्य व्यक्त गर्दै स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेले पाठेघरको मुखको क्यान्सर विरुद्ध खोपसँगै सचेतना, अभिमुखीकरण र दिगोपनामा जोड दिनुपर्ने बताउनु भयो । खोप के हो, कसरी काम गर्छ भन्ने विषयमा समुदायस्तरमै जानकारी फैलाउनुपर्ने उहाको भनाइ थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका कृष्णहरि पौडेलले गर्नु भएको थियो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित