राजन कुमार बानिया /पर्सा, २० माघ पर्सा निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै घरदैलो अभियानलाई तीव्र बनाएका छन्। छिपहरमाई गाउँपालिका वडा नं.–५ भिस्वामा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार रिजालले घर–घरमा पुगेर स्थानीय मतदातासँग भेटघाट तथा संवाद गरेका थिए। सो क्रममा उनले स्थानीयवासीका गुनासा, अपेक्षा र दीर्घकालीन समस्या ध्यानपूर्वक सुन्दै नेपाली कांग्रेसका नीति, कार्यक्रम तथा क्षेत्र विकासका योजनाबारे जानकारी गराएका थिए। घरदैलोका क्रममा रिजालले शिक्षा, स्वास्थ्य सेवा, रोजगारी सिर्जना तथा आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारे। यी क्षेत्रको सुधार र सुदृढीकरणका लागि आफू प्रतिबद्ध भएर काम गर्ने बताउँदै उनले जनताको भरोसा र सक्रिय समर्थनबाट मात्र क्षेत्रको समग्र विकास सम्भव हुने धारणा व्यक्त गरे। लोकतन्त्र सुदृढीकरणका लागि नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै रिजालले आसन्न निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न मतदातासमक्ष आग्रह गरेका थिए। घरमै आएर उम्मेदवारले समस्या सुनेको भन्दै स्थानीय मतदाताहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले छिपहरमाई क्षेत्रको दीर्घकालीन, समावेशी र दिगो विकासका लागि स्पष्ट योजना तथा निरन्तर जनसम्पर्क आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। कांग्रेस उम्मेदवार रिजालले आगामी दिनहरूमा पनि छिपहरमाई गाउँपालिकाका अन्य वडाहरूमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।