आरपि उपाध्याय / नवलपरासी ,१८ माघ नेपाली काङ्ग्रेस नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ को आयोजनामा बृहत् क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न भएको छ। आउँदै गरेको फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी बर्दघाट नगरपालिका वडा नं. ७ स्थित जिमिरेभारमा उक्त भेला आयोजना गरिएको हो। भेला क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का नेपाली काङ्ग्रेसका उम्मेदवार बिनोद कुमार चौधरीले कार्यकर्ता भेला भनेको जनता र कार्यकर्ताका गुनासो सुन्ने साझा थलो भएको उल्लेख गर्नुभयो। उहाँले भेला मार्फत आपसी कमीकमजोरीको समीक्षा गर्दै समाधान खोजी एकताबद्ध रूपमा अघि बढ्नुपर्ने सन्देश दिनुभयो। चौधरीले विशेष महाधिवेशनपछि पार्टी सभापतिको जिम्मेवारी सम्हाल्नुभएका गगन कुमार थापाको कुशल नेतृत्वले नेपाली जनतामा आशाको किरण थप बलियो बनेको बताउँदै देशको मुहार परिवर्तन गरी राष्ट्रलाई सही गन्तव्यतर्फ अघि बढाउन थप ऊर्जा प्राप्त भएको जिकिर गर्नुभयो। उहाँले विशेष महाधिवेशनबाट नेपाली काङ्ग्रेसका मुख्य एजेन्डामध्ये अवसर नपाएका नेताहरूलाई अवसर दिने नीति कार्यान्वयनमा आएको उल्लेख गर्दै १०० भन्दा बढी नयाँ अनुहार निर्वाचनमा उम्मेदवार बन्नु नै परिवर्तनको स्पष्ट संकेत भएको बताउनुभयो। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनु भएका चौधरीले नेताको चाकरी गरेर मात्र टिकट पाइने पुरानो परम्पराको अन्त्य भएको धारणा राख्दै आर्थिक, राजनीतिक तथा सामाजिक चुनौतीको समाधान गर्दै अगाडि बढ्ने उद्देश्यसहित आफू जनताको माझ आएको स्पष्ट पार्नुभयो। कार्यकर्ता भेलामा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ, महिला संघकी केन्द्रीय सदस्य कमला पराजुली, नेपाली काङ्ग्रेस नवलपरासीका सचिव उमेशचन्द्र यादव, उपाध्यक्ष अनिल गौड, कुलदीप आचार्य, बेदप्रकाश शर्मालगायत नेताहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव रामप्रसाद जोशीले गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।