Rashtriya Dainik

सहिदकै बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापित भएको हो : नगर प्रमुख श्रेष्ठ

प्रकाश न्यौपाने /नवलपरासी ,१६ माघ

हरेक प्रजातन्त्र, बहुदलीय व्यवस्था र संघीय गणतन्त्रजस्ता ठूला राजनीतिक परिवर्तन सहिदकै बलिदानका कारण सम्भव भएको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानको सांस्कृतिक विभागद्वारा आयोजित सहिद स्मृति कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले सहिदको त्याग र योगदानको सम्मान गर्नु राज्य र समाज दुवैको दायित्व भएको उल्लेख गर्नुभयो ।

नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकामा निर्वाचित भएपछि सहिद परिवारप्रति सम्मानस्वरूप मासिक दुई हजार रुपैयाँ सहयोग प्रदान गर्दै आएको जानकारी दिनुभयो । नगरले सहिदलाई उच्च सम्मान गर्दै आएको बताउँदै उहाँले सहिदको बलिदानलाई केवल स्मृतिमा सीमित नराखी व्यवहारमै सम्मान गरिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले देशको परिवर्तनमा सहिदहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले सहिदको भूमिका र परिवर्तनको मर्म कहिल्यै बिर्सन नहुनेमा जोड दिनुभयो ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठले राणा शासनविरुद्ध तथा ससत्र दन्दको क्रममा सहिद हुनु भएका खेम नारायण फौजदार, खोर बहादुर चौधरी, चन्द्र ज्योति चौधरी, कृष्णमान श्रेष्ठ, बाबुराम चौधरी, मुक्तनाथ खनाल, विष्णु पाण्डे, विमल कँडेललगायत सहिदका परिवारजनलाई सम्मान गरिएको थियो । सहिद परिवारका सदस्यहरूले सहिदप्रति माल्यार्पण तथा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा कार्यक्रमको सञ्चालन सदस्य सचिव शरद पौडेल, स्वागत मन्तव्य कुसुमाकर ढकाल र अध्यक्षता सास्कृतिक बिभाग प्रमुख दिपप्रकाश लोहनी रहनु भएको थियो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसै अवसरमा सहिद स्मृति अध्ययन केन्द्र, बर्दघाट–१० भुतहा खोला शिरका अध्यक्ष पूर्णमान श्रेष्ठले सहिद स्मृति पार्कको सरसफाइ तथा सौन्दर्यीकरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा सहिद स्मृति पार्क क्षेत्रमा सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, टोल विकास संस्था, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, शिक्षक–विद्यार्थी, आमा समूह, योग शिविरका सहभागी, बुद्धिजीवी तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित