प्रकाश न्यौपाने /नवलपरासी , माघ १५ गते साँझ पर्दै जाँदा एक्सपो परिसर झिलिमिली बत्तीले झकिझकाउ हुन्छ। भीडको चहलपहलबीच कतै माछा सेकिँदै गरेको बास्ना आउँछ भने कतै तातो बटुक र सेलरोटीको सुवास फैलिएको हुन्छ। यो केवल खानाको कुरा मात्र होइन, यो पुर्खाको स्मृति, समुदायको पहिचान र संस्कृतिको निरन्तरता हो। बर्दघाटमा सञ्चालन भइरहेको एक्सपोमा थारु, मगर र गुरुङ्ग समुदायले स्थापना गरेका भान्सा घरहरूले यही कथा बोलिरहेका छन्। थारु भान्सा घरः स्वादसँगै जीवनशैलीको कथा एक्सपो परिसरको एक भागमा अवस्थित थारु भान्सा घर दर्शकको पहिलो आकर्षण बन्ने गरेको छ। ब्रह्म बाबा सामुदायिक विकास संस्था र सम्झना महिला समूहको संयुक्त आयोजनामा सञ्चालन गरिएको भान्सा घरमा थारु समुदायका परम्परागत परिकार—चिचर, घुगी, माछा, टेकुवा लगायत—सजिएर राखिएका छन्। सम्झना महिला समूहकी अध्यक्ष रमिता चौधरीका अनुसार थारु परिकारप्रति नयाँ पुस्ताको चासो बढ्दो क्रममा रहेको छ। स्टलमा थारु महिलाहरू आफ्नै मौलिक भेषभूषामा भान्साको काममा व्यस्त देखिन्छन्। उनीहरूका हातले बनेका परिकारले केवल पेट मात्र भरिँदैन, थारु समुदायको इतिहास र आत्मीयता पनि स्वादमा मिसिएको अनुभूति गराउँछ। परम्परादेखि नै जंगल, नदी र प्रकृतिसँग नजिक रहेर जीवन बिताउँदै आएको थारु समुदायको जीवनशैली उनीहरूको खानामा पनि स्पष्ट झल्किन्छ। भान्सा घरमा आउने धेरै दर्शकले पहिलोपटक घुगी र चिचर जस्ता परिकार चाखेका छन्। “पहिले नाम मात्र सुनेका थियौं, आज स्वाद चाख्न पाइयो,” एक दर्शकको प्रतिक्रिया एक्सपोको उद्देश्य सफल हुँदै गएको संकेत हो। मगर भान्सा घरः इतिहास बोकेको कुडुले घर एक्सपोमा भेटिएको अर्को आकर्षक स्टल हो मगर भान्सा घर। थारु भान्सा घरसँगै रहेको यो भान्सा घर नेपाल मगर संघ बर्दघाट नगर समितिद्वारा सञ्चालन गरिएको हो। यहाँ बटुक, सेलरोटी, बङ्गुरको सेकुवा र बङ्गुरको भुटुवा जस्ता परम्परागत परिकार राखिएका छन्। भान्सा घरको अर्को विशेष आकर्षण भनेको मगर जातिको पुरानो घर ‘कुडुले घर’ हो। माटो, काठ र स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिएको यस घरले मगर समुदायको पुरानो जीवनशैलीलाई प्रत्यक्ष देखाउँछ। दर्शकहरू घरभित्र पसेर फोटो खिच्दै, संरचना र प्रयोगबारे जानकारी लिँदै गरेको दृश्य सामान्य देखिन्छ। नेपाल मगर संघ बर्दघाट नगर समितिका सदस्य झम बहादुर सारु भन्छन्, “नयाँ पुस्ता मोबाइल र आधुनिक जीवनशैलीमा रमाइरहेको छ। मगर जातिका पुराना खानाका परिकार, घर र संस्कृतिलाई चिनाउन गाह्रो हुँदै गएको छ। यस्तो एक्सपोले हामीलाई आफ्नै पहिचान देखाउने मौका दिएको छ।” उनका अनुसार मगर भान्सा घर केवल व्यापारका लागि मात्र नभई संस्कृति संरक्षणको अभियान हो। गुरुङ्ग भान्सा घरः घुमाउने घरभित्र पुर्खाको सम्झना मगर र थारु भान्सा घरसँगै रहेको अर्को आकर्षक स्टल हो गुरुङ्ग भान्सा घर। तमु घी गुरुङ्ग घरबाट सञ्चालन गरिएको यस भान्सा घरमा निर्माण गरिएको घुमाउने घर (गुमाउने घर) आगन्तुकका लागि विशेष आकर्षण बनेको छ। तमु प्ये ल्हु संघका जिल्ला अध्यक्ष बिरबहादुर गुरुङ्गका अनुसार गुरुङ्ग पुर्खाहरूले बनाउँदै आएका यस्ता घर अहिले लोप हुने अवस्थामा छन्। “हाम्रो पुर्खाले प्रयोग गरेको घर, औजार र जीवनशैली नयाँ पुस्ताले किताबमा मात्र पढ्ने अवस्थामा पुगिसक्यो,” उनी भन्छन्, “त्यसैले अरूलाई देखाउन, बुझाउन र सिकाउनका लागि हामीले एक्सपोमा घुमाउने घर बनाएका हौं।” गुरुङ्ग स्टलमा हलो, जुवा, ढिकी, मैरीको घार, स्याकु, डोको, थुन्से, सिप्रिङ जस्ता परम्परागत सामग्रीहरू राखिएका छन्। यी सामग्रीहरूले गुरुङ्ग समुदायको कृषि, श्रम र सामूहिक जीवनशैली झल्काउँछन्। खाने परिकारतर्फ बटुक, सेलरोटी र माने रोटी दर्शकको रोजाइमा परेका छन्। निःशुल्क स्टलः पहिचान जोगाउने आयोजकको नीति आयोजकका अनुसार एक्सपोको उद्देश्य केवल व्यापार प्रवर्द्धन मात्र नभई जातीय पहिचान, मौलिक संस्कृति र परम्परागत खानाको संरक्षण हो। यही उद्देश्यअनुसार थारु, मगर र गुरुङ्ग समुदायलाई निःशुल्क स्टल उपलब्ध गराइएको एक्सपो आयोजक बर्दघाट व्यापार संघका अध्यक्ष राजु न्यौपानेले बताए । “हामीले एक्सपोमा थारु, मगर र गुरुङ्ग समुदायलाई स्टल निःशुल्क उपलब्ध गराएका छौं,” उनले भने। यसले समुदायलाई आर्थिक दबाबबिनै आफ्ना संस्कृति र परिकार प्रस्तुत गर्ने अवसर दिएको आयोजकहरूको भनाइ छ। एक्सपो स्थलमा जातीय भान्सा घर वरिपरि देखिने भीडले पनि यस निर्णयको सार्थकता पुष्टि गर्छ। आधुनिक भीडमा मौलिक पहिचानको खोजी आजको पुस्ता फास्ट फुड र आधुनिक जीवनशैलीमा अभ्यस्त हुँदै जाँदा यस्ता एक्सपोहरूले हराउँदै गएका स्वाद, कथा र संस्कृतिलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको बर्दघाट व्यापार संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपाने बताउँछन्। एक्सपोमा देखिएका थारु, मगर र गुरुङ्ग समुदायका भान्सा घर केवल खानाका स्टल मात्र होइनन्, ती जिउँदा संग्रहालय जस्तै बनेका छन्। मेलाको चहलपहल सकिएपछि पनि यहाँ देखिएको संस्कृति, सुनेका कथा र चाखिएका स्वादले आगन्तुकको स्मृतिमा लामो समयसम्म स्थान बनाउने निश्चित छ। यही अर्थमा, एक्सपो केवल उत्सव मात्र होइन—पुर्खाको विरासतलाई वर्तमानसँग जोड्ने सेतु बनेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।