राजन कुमार बानिया
पर्सा १५ माघ
नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेयले निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पकहामैनपुर – २ सहित आसपासका गाउँहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
स्थानीय बासिन्दाको उल्लेख्य सहभागितामा सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवार पाण्डेयले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना राजनीतिक एजेन्डा, विकास योजना तथा भावी दृष्टिकोणबारे जानकारी गराएका थिए ।
घरदैलो अभियानका क्रममा पाण्डेयले भ्रष्टाचार, बेथिति तथा सरकारी संरचनाभित्रको दलीयकरण अन्त्य गर्दै पारदर्शी, उत्तरदायी र जनमुखी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । “विकसित र समृद्ध राष्ट्र निर्माणका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ,” भन्दै उनले सूर्य छापमा मतदान गरी नेपाल कम्युनिस्ट पार्टी एमालेलाई समर्थन गर्न मतदातासँग आग्रह गरे ।
कार्यक्रममा बोल्दै पाण्डेयले सडक, सरसफाइ, खानेपानी, शिक्षा तथा स्वास्थ्य सेवाजस्ता आधारभूत समस्याको दीर्घकालीन समाधानका लागि आफूले स्पष्ट योजना बनाइसकेको बताए । “स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गर्दै पर्सा क्षेत्र नम्बर ३ को समग्र विकास र मुहार परिवर्तन गर्ने लक्ष्य लिएको छु,” उनले भने ।
उनले क्षेत्र नम्बर ३ लाई आधुनिक पूर्वाधार, व्यवस्थित सहरी योजना तथा नागरिकमैत्री सेवासहित ‘नमुना सहर’का रूपमा विकास गर्दै मधेसकै केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे । स्थानीय सरकार र सङ्घीय निकायबिच समन्वय सुदृढ गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने उनले दाबी गरे ।
पाण्डेयले युवाहरूलाई रोजगारीमुखी सीप विकास, महिला उद्यमशीलता प्रवर्द्धन तथा कृषिमा आधुनिक प्रविधि भित्र्याएर आर्थिक गतिविधि विस्तार गर्ने योजनासमेत अघि सारेका छन् ।
घरदैलो कार्यक्रममा सहभागी स्थानीयहरूले विकास, सुशासन र पारदर्शिताप्रति उम्मेदवार पाण्डेयको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । कार्यक्रमको अन्त्यमा पाण्डेयले मतदाताबाट प्राप्त सुझाव र गुनासोलाई प्राथमिकतामा राख्दै आगामी दिनमा निरन्तर संवाद र अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

