सिन्धुपाल्चोक | माघ १५ विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक जितराज गिरी रहेका छन्। उनलाई नियन्त्रणमा लिएर म्याद थपको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले जानकारी दिनुभयो। प्रहरीका अनुसार विद्यालय नजिकै आफ्नै स्टेशनरी पसल सञ्चालन गर्दै आएका गिरीमाथि सोही पसलमा पुगेकी १२ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। पीडित छात्रा हाल कक्षा ७ मा अध्ययनरत छिन्। घटनाबारे पीडित बालिकाले आफन्तलाई जानकारी गराएपछि विषय बाहिर आएको हो। त्यसपछि परिवारले प्रहरीमा जाहेरी दिएका थिए, जसका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यता आरोपित शिक्षक गिरीले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै ‘माया गरेर गाला मात्र छोएको’ दाबी गरेका छन्। आरोप अस्वीकार गरेपछि बालिकाका आफन्तले बुधबार विद्यालय परिसरमा दबाब सिर्जना गरेका थिए। घटनाबारे जानकारी पाएपछि बालिकाका अभिभावक विद्यालय पुगेर छलफल गरेका थिए। तर सहमति नजुटेपछि अवस्था तनावग्रस्त बनेको र त्यसपछि प्रहरी हस्तक्षेप गरी आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।