प्रकाश न्यौपाने/ नवलपरासी ,१४ माघ उद्योग व्यापार संघ बर्दघाटद्वारा माघ १३ गतेदेखि सञ्चालनमा आएको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ मा डान्स आइडल प्रतियोगिता आयोजना गरिने भएको छ । बर्दघाट नगरपालिका वडा नं. ४ हरियालीनगरमा जारी एक्सपोको प्रमुख आकर्षणका रूपमा डान्स आइडल समावेश गरिएको हो । सांस्कृतिक तथा गोष्ठी सेमिनार उपसमिति संयोजक मोहन सापकोटाका अनुसार खुल्ला नृत्यतर्फको डान्स आइडल प्रतियोगिताको पहिलो चरणको अडिसन माघ १५ र १६ गते हुने छ । त्यसैगरी दोस्रो चरण माघ १८ गते, तेस्रो चरण माघ २० गते, चौथो चरण माघ २२ गते र फाइनल प्रतियोगिता माघ २४ गते आयोजना गरिनेछ । डान्स आइडल प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै दोस्रो हुनेलाई नगद १० हजार रुपैयाँ तथा तेस्रो हुनेलाई नगद ५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिताको अडिसन माघ १८ गते तथा फाइनल प्रतियोगिता माघ २३ गते हुने सापकोटाले जानकारी दिनुभयो । विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार रुपैयाँ, दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुने विद्यालयले ७ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला नृत्यतर्फ अधिकतम दुई जनाले मात्र नृत्य प्रस्तुत गर्न पाउने व्यवस्था गरिएको छ । दुई जनाभन्दा बढी सहभागी भएमा मान्यता नपाउने आयोजकले जनाएको छ । प्रतियोगितामा बढीमा तीन वटा गीत रिमिक्स गर्न पाइनेछ भने नृत्यको समय पाँच मिनेटभन्दा बढी हुन नपाउने छ । नृत्य अनुसारको भेषभूषा अनिवार्य गरिएको छ । समूहगत नृत्यतर्फ भने रिमिक्स गीत प्रयोग गर्न नपाइने, चलचित्रमा प्रयोग भएका गीतमा नृत्य गर्न नपाइने तथा गीतको अवधि बढीमा आठ मिनेटको हुनुपर्ने नियम तोकिएको छ । नृत्यमा प्रयोग हुने सामग्री सहभागी स्वयंले ल्याउनुपर्ने एक्सपोका उपभोक्ता गुनासो, सुनुवाइ तथा टिकट व्यवस्थापन उपसमिति संयोजक केशव बस्यालले जानकारी दिनुभयो । एक्सपोअन्तर्गत आजको सांगीतिक कार्यक्रममा गायक हेमन्त शर्मा, विष्णु सिँजाली तथा गायिका शिला गुरुङले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । भोलिको सांगीतिक कार्यक्रममा गायक रेशमराज भट्टराई, गायिका लक्ष्मी बस्नेत, गायक डोलराज न्यौपाने तथा गायक दीपक दर्लामीको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक सापकोटाले जानकारी दिनुभयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।