वीरगन्ज, १५ माघ नेकपा एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार तथा युवा नेता प्रदीप यादवले मधेशको मुद्दा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार यादवले नेपाली जनताको सपना साकार पार्न सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रभित्र घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्व मन्त्रीसमेत रहेका यादवले जेन–जी (Gen-Z) पुस्ताको माग र भावनालाई कदर गर्दै उनीहरूको सम्पूर्ण जायज माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विकास, रोजगारी र राजनीतिक स्थायित्वका लागि नेकपा एमालेलाई समर्थन गर्न मतदातालाई आग्रह गरे। यादवले आफू खानेपानी मन्त्री हुँदा पर्सा जिल्लाको वीरगन्जसहित मधेशका विभिन्न क्षेत्रमा चापाकल सुक्दा उत्पन्न भएको पानीको गम्भीर समस्या समाधान गरी जनताको विश्वास जित्न सफल भएको दाबी गरे। उनले पर्सा–१ मा एमालेको संगठनात्मक शक्ति, जनसमर्थन र कार्यकर्ता एकताका कारण निर्णायक जित सुनिश्चित रहेको दाबीसमेत गरे। यादवले चुनाव जिते पनि नजिते पनि सधैं जनताकै बीचमा बसेर काम गरिरहेको र भविष्यमा पनि निरन्तर जनसेवामा लागिरहने बताए। अन्य उम्मेदवारहरू चुनावी समयमा मात्र मतदाताको घरदैलोमा पुग्ने गरेको आरोप लगाउँदै यादवले मतदातालाई यस्ता प्रवृत्तिप्रति सचेत रहन आग्रह गरे। उनले पर्सा–१ मा एमालेप्रति जनआकर्षण निरन्तर बढ्दो क्रममा रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता नै आफ्नो जितको मुख्य आधार भएको बताए। साथै, संगठन विस्तार र प्रभावशाली नेताहरूको प्रवेशका कारण चुनावी वातावरण पूर्ण रूपमा एमालेको पक्षमा रहेको उनको दाबी छ। अन्त्यमा यादवले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ बाट नेकपा एमालेलाई भारी बहुमतले विजयी गराउन मतदातासँग आग्रह गरे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।