आरपि उपाध्याय / नवलपुर ,१४ माघ पश्चिम नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राप्रपाले प्रतापपुर गाउँपालिका–स्थित सेमरीमा एक कार्यक्रमबीच निर्वाचन कार्यालयको स्थापना गरेको हो। निर्वाचन कार्यालय स्थापना कार्यक्रम राप्रपा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति नगेन्द्र प्रसाद कुश्वाहाको अध्यक्षता तथा पार्टीका केन्द्रीय उपाध्यक्ष ध्रुव बहादुर प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै केन्द्रीय उपाध्यक्ष प्रधानले नेपाल र नेपालीको स्थायित्वका लागि आगामी निर्वाचनले सकारात्मक परिणाम ल्याउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले युवा वर्गलाई अघि बढाउने उद्देश्यसहित क्षेत्र नम्बर–१ बाट युवा उम्मेदवारलाई अघि सारिएको उल्लेख गर्दै अबको समय युवाको हुने बताउनुभयो। पुरानो अनुभवलाई आत्मसात् गर्दै उज्यालो भविष्य निर्माण गर्ने लक्ष्य पार्टीको रहेको उहाँको भनाइ थियो। कार्यक्रममा राप्रपाका पूर्व क्षेत्रीय अध्यक्ष सुधिर कुमार पाण्डेले अन्य दलहरूले गणतन्त्र र धर्मनिरपेक्षताको विषय उठाइरहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राज्य र संवैधानिक राजतन्त्रको पक्षमा स्पष्ट रूपमा उभिएको बताउनुभयो। उहाँले देशमा व्याप्त बेथिति र भ्रष्टाचारको अन्त्यका लागि पार्टी दृढताका साथ अघि बढेको पनि स्पष्ट पार्नुभयो। त्यसैगरी क्षेत्र नम्बर–१ का राप्रपा उम्मेदवार नवमित मिश्राले आफू आत्मबल, अठोट र निष्ठाका साथ राजनीतिक यात्रामा अघि बढिरहेको बताउनुभयो। उहाँले जनतामाझ पुगेर पार्टीको नीति, विचार र सिद्धान्त प्रस्तुत गर्दै मतदाताको विश्वास जित्ने कार्यमा सक्रिय रूपमा लागिरहेको जानकारी दिनुभयो। निर्वाचन कार्यालय स्थापना कार्यक्रममा पार्टीका क्षेत्रीय सचिव राधेश्याम यादव लगायतका नेताहरूले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन गोबिन्द जोशीले गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।