Rashtriya Dainik

घन्टी केवल चुनाव चिन्ह होइन, भ्रष्टाचारविरुद्धको आवाज हो : खनाल

बिनोद निगम / नवलपरासी , १४ माघ

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार बिक्रम खनालले बर्दघाटमा मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो चुनावी दृष्टिकोण, राजनीतिक यात्रा र विकाससम्बन्धी प्राथमिकताबारे जानकारी गराउनुभएको छ।

पत्रकार सम्मेलनमा बोल्दै खनालले आफू २०४० सालदेखि नवलपरासीको माटोसँग जोडिएर सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएको बताउनुभयो। करिब चार दशक लामो राजनीतिक यात्रामा उहाँ २०७० सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो। साथै, नेपाली कांग्रेसको प्रदेश महामन्त्रीको जिम्मेवारी सम्हाल्दै पार्टी संगठन सुदृढीकरणमा समेत सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो।

आफ्नो विगतको राजनीतिक भूमिकाप्रति आत्मालोचना गर्दै खनालले सत्ताको केन्द्रमा रहेर पनि जनअपेक्षा अनुसार काम हुन नसकेको स्वीकार गर्नुभयो। “महामन्त्री हुँदा म व्यक्तिगत रूपमा सुरक्षित थिएँ, तर देश सुरक्षित थिएन, न त नवलपरासी नै सुरक्षित थियो,” उहाँले भन्नुभयो। पछिल्ला वर्षहरूमा बढ्दो भ्रष्टाचार, राजनीतिक अस्थिरता र जननिराशाले आफूलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनाएको उहाँको भनाइ थियो।

भदौ २३–२४ को आन्दोलनका क्रममा युवापुस्ताबाट उठेका ‘नो भोट’ र ‘नेपो बेबी’ जस्ता नाराले परम्परागत राजनीतिप्रति जनतामा बढ्दो असन्तुष्टि देखाएको उल्लेख गर्दै खनालले त्यही चेतनाले आफूलाई नयाँ राजनीतिक बाटो रोज्न प्रेरित गरेको स्पष्ट पार्नुभयो। परिवर्तन केवल नारामा सीमित नभई व्यवहारमै देखिनुपर्ने उहाँको धारणा थियो।

रास्वपाबाट उम्मेदवारी दिनुको औचित्य प्रष्ट पार्दै खनालले ‘घन्टी’ चुनाव चिन्हलाई केवल प्रतीक मात्र नभई भ्रष्टाचार, सिण्डिकेट र कुशासनविरुद्धको सामूहिक आवाजको रूपमा व्याख्या गर्नुभयो। “घन्टी बज्नु भनेको गलत अभ्यासविरुद्ध चेतावनी दिनु हो,” उहाँले भन्नुभयो।

उहाँले आफ्नो चुनावी एजेन्डामा औद्योगिक विकासलाई प्राथमिकतामा राख्दै स्थानीय स्रोत र साधनको अधिकतम उपयोगमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कृषि क्षेत्रको आधुनिकीकरण, व्यापार व्यवसायका लागि सहज वातावरण, गुणस्तरीय शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच विस्तारलाई पनि मुख्य कार्यदिशा बनाउने बताउनुभयो।
नवलपरासी अपार सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै खनालले राजनीतिक इच्छाशक्ति, पारदर्शिता र जवाफदेहितामार्फत जिल्लालाई आर्थिक तथा सामाजिक रूपान्तरणको नयाँ चरणमा लैजान सकिने दाबी गर्नुभयो। “अब विकास पुरानै ढर्रामा होइन, नयाँ सोच र नयाँ अभ्यासबाट अघि बढ्नुपर्छ,” उहाँले जोड दिनुभयो।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले खनालको राजनीतिक परिवर्तन, विगतको भूमिकाप्रति आत्मालोचना र भावी कार्ययोजनाबारे प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै खनालले जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित