Rashtriya Dainik

विद्यालयमा सांस्कृतिक कार्यक्रमलाई लिएर झडप, शिक्षकसहित पाँच जना घाइते

राजन कुमार बानिया / पर्सा, माघ १३

पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं. १ भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार दुई पक्षबिच झडप हुँदा दुई जना शिक्षकसहित पाँच जना घाइते भएका छन्।
झडपपछि आक्रोशित स्थानीय समूहले केही शिक्षकलाई कालो मोसो दल्नुका साथै विद्यालय परिसरभित्र रहेका फर्निचरहरू तोडफोड गरेको जनाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
प्राप्त जानकारीअनुसार घटनाको कारण विद्यालयमा आयोजना गरिएको एक सांस्कृतिक कार्यक्रमसँग सम्बन्धित रहेको बताइएको छ। माघ ९ गते शुक्रबार सरस्वती पूजाको अवसरमा पूजा व्यवस्थापन समिति र विद्यालय प्रशासनको सहमतिमा विद्यालय परिसरमै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा सहभागी एक समूहको प्रस्तुति तथा त्यस क्रममा भएका केही गतिविधि आपत्तिजनक रहेको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका थिए। कार्यक्रमका केही दृश्यहरू भिडियोमार्फत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय र अन्य विद्यार्थीहरू थप आक्रोशित बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
विद्यालय प्रशासनको लापरबाहीका कारण यस्ता गतिविधि भएको आरोप लगाउँदै स्थानीयले विरोध जनाएका थिए। विरोध क्रमशः उग्र बन्दै गएपछि स्थिति झडपमा परिणत भएको हो।
घटनापछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। हाल स्थिति सामान्य बन्दै गएको प्रशासनले जनाएको छ। घटनाका सम्बन्धमा विद्यालय प्रशासन, स्थानीय तह तथा प्रहरी प्रशासनबाट थप अनुसन्धान भइरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित